TodayPati

सधैँ विवादमा जनकपुरको ‘ज्यानमारा’ रामजानकी अस्पताल, पावर र पैसाको आडमा लुट मच्चाउँदै

टुडेपाटी-

जनकपुरधाम, साउन २५ गते ।


५ साउन २०७६ मा धेरै रकमको बिल बनाउन जनकपुरस्थित राम जानकी अस्पतालले अनावश्यक रुपमा अत्यधिक र कडा औषधि प्रयोग गर्दा धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरकोे मृत्यु भयो ।

Sponsored

उक्त घटना सार्वजनिक भएपछि हस्पिटलले मृतक परिवारसमक्ष गल्ती स्वीकार गर्दै ४ लाख रुपैयाँ दिएर घटना ढाकछोप गरे । बिरामीको ज्यानै लिने जस्तो जघन्य अपराध गरेको अस्पताल र पिडित परिवारलाई मिलापत्र गराउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय धनुषा समेत साक्षी बने ।

राजनीतिक र प्रशासनिक दबाबपछि मृतक परिवारको आर्थिक अवस्था समेत कमजोर रहेकाले उनी पैसा लिएर अस्पतालसँग सम्झौता गर्न बाध्य भए ।

गएको बिहीवार समेत अस्पताल र रेडक्रस दुबैको लापरवाहीले सोही अस्पतालमा एक सुत्केरीको ज्यान गयो । महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोले छोरी जन्माएपछि उनको शरिरमा रगत कमी देखिएपछि उनको उपचारको क्रममा अस्पतालले ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा बिहीबार राति गंगादेवीको मृत्यु भएको थियो ।

Sponsored

फरक ग्रुपको रगत चढाएकै कारण सुत्केरीको मृत्यु भएको अस्पतालले समेत स्वीकार गरे । तर राजीतिक पहुँच, पैसा र पावरको आडमा सुत्केरीको मृत्यु हुँदा समेत अस्पताललाई केही फरक परेन् ।

गंगाको मृत्यु प्रकरणमा रामजानकी अस्पतालले आफ्नो चरम लापरबाही ढाकछोप गर्न समेत पाँच लाख रुपैयाँ दिएर घटना मिलाए । अस्पतालले पाँच लाख रुपैयाँ दिने सर्तमा दोषीमाथि कुनै प्रकारको कारबाही नगर्ने दुबै पक्षबीच सहमति भएको छ । फरक रगत चढाउँदा प्रहरीले पक्राउ गरेको दुईजना डाक्टरसमेत रिहा भइसकेका छन् ।

जमानतमा दुबै जना डाक्टरलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मगेन्द्र मिश्रले बताए । तर पीडित परिवारतर्फका राजेश महतोले अस्पतालमा आफूहरु असुक्षित महसुस गरेपछि सहमति गरेको बताए ।

‘अस्पतालले गुण्डा बोलाएर घटना लिमाउने पर्ने भन्दै धक्की दिने र तर्साउने काम गर्यो । हामी असुरक्षित थियौं । कसैले सुरक्षा दिएनन् । बाध्य भएर ५ लाख रुपैयाँमा हामी घटनालाई मिलायौं’, महतोले भने । यी दुइ घटना अस्पतालको लापरबाही छताछुल्ला पार्ने प्रतिनिधिपात्र मात्र हुन् ।

अस्पतालमा लामो समयदेखि कार्यरत एक चिकित्सकका अनुसार बिरामीलाई ठग्न ठूलो रकमको बिल बनाउने र पैसा कमाउन उपचार सम्भव नहुने अवस्थामा समेत उपचार गरिराखेपछि अस्पतालमा निरन्तर विवाद भैरहन्छन् ।

अस्पताल प्रशासन र संचालकले नै अस्पतालमा कार्यरत चिकित्सकलाई औषधी चलाउन र धेरै रकमको बिल बनाउन दबाब दिएपछि केही चिकित्सकले अस्पतालमा कामै छोड्न बाध्य भएको उनले बताए । ‘डाक्टरले लेखेको औषधी भन्दा अस्पतालले बढी कमिसन आउने कम्पनीको दबाई चलाउन अस्पतालले दबाब दिन्छ ।

नचाहिने जाँच र दबाई पनि दिएर बढी बिल बनाउन लगाउँदा अस्पतालमा प्रायजसो विवाद भैरहन्छ । तर कहिलेकाहीँ मात्र यी कुराहरु मिडियामा आउँछ,’ अस्पतालकै फार्मेसीमा कार्यरत एक कर्मचारीले भने । जागिर र सुरक्षाको कारण देखाउँदै नाम नखोल्ने शर्तमा लामो समयदेखि सोही अस्पतालमा कार्यरत ती कर्मचारीले अस्पतालले विरामी ठग्ने धन्धा चलाएपछि कतिपय डाक्टर काम छोडेर हिँडेको जानकारी दिए ।

यसअघि समेत निरन्तर विवादमा आउँदै आएको राम जानकी अस्पतालका संचालक गणेश साह नेपाली काँग्रेस निकट मानिन्छन् । काँग्रेसका स्थानीय तथा केन्द्रिय स्तरका नेता र पैसाको आडमा अस्पताल संचालक साहले निरन्तर आफ्नो लापरबाही ढाकछोप गर्दै आएका छन् ।

पटक पटक गल्ती गर्दै गएपछि राजनीतिक पहुँच विस्तार गर्दै उनी पछिल्लो समय प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहसँग समेत नजिकिएको अस्पताल संचालक साह निकटहरु बताउँछन् ।

पटक पटक लापरबाही गर्दा समेत अस्पतालले राजनीतिक र प्रशासनकि पहुँचको आडमा कानुनी कार्वाहीबाट बच्दै आएको स्थानीय युवा अगुवा शुशिल कर्णले बताए । गंगा देवी मृत्यु प्रकरणमा अस्पतालका स्टाफ, डाक्टर, अस्पताल प्रशासन लगायत दोषी सबैलाई कानुनी दायरमा ल्याएर मानवता बचाउन प्रहरी प्रशासनलाई उनले आग्रह गरे ।

बिरामी फकाउन गाउँ—गाउँमा एजेन्ट, एम्बुलेस चालकलाई ७ हजारसम्म कमिसन

निरन्तर विवादमा आउने र कागजमा मात्र सेवासुविधा देखार विरामी ठग्न थालेपछि रामजानकी अस्पतालमा उपचार गराउन सुरुवाती अवस्थामा थोरै विरामी पुगिरहेका थिए ।

तर सेवा सुविधा थप गर्नुको साटो अस्पतालले विरामी फकाउन अनेकन रणनीति बनाउ थाले । अस्पतालले बिरामी तान्न गाउँ गाउँमा बिचौलीया (एजेन्ट) राख्न सुरु गरे ।

‘गाउँमा सि.एम.ए र एच.ए. लाई मोटो कमिसन दिनथालेपछि उनीहरु विरामीलाई रामजानकी अस्पतालमै पुग्न कन्भिन्स गर्दो रहेछ,’ अस्पताल स्रोतले भन्यो, ‘बिरामीको अवस्था अनुसार एम्बुलेन्स चालकलाई पनि एक जना विरामी बापत ७ हजारसम्म दिने गरेको छ ।’

जनकपुरमा एम्बुलेन्स चालकलाई निजिी अस्पतालमध्ये सबैभन्दा धेरै रामजानकी अस्पतालले नै कमिसन दिने गरेको उनले बताए ।

पावर र पैसाको आडमा अस्पताल निर्माण थालेको भन्दै सुरुमै व्यापक विरोध

२०७३ सालमा जानकी मन्दिरको सीता फुलबारीको जग्गा अतिक्रम गरी राम जानकी अस्पतालले भवन निर्माण गरेको भन्दै स्थानीयहरुले व्यापक विरोध गरे ।

तर मन्दिरका महन्तको साथ, राजनीतिक शक्ति र पैसाको आडमा अस्पताल संचालक गणेश साहले निर्माण नरोकेपछि स्थायनीय युवाहरुले अदालतमा मुद्दा दायर गरे ।

तराई मानवअधिकार रक्षक सञ्जालको सहयोगमा स्थानीय अगुवा सुशील कर्णसहितको समूहले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले धार्मिक महत्वको जग्गा नीजि अस्पताल निर्माणका लागि लिजमा दिएको भन्दै जिल्ला अदालत धनुषामा निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्दै निवेदन दिएका थिए ।

जिल्ला अदालतले मापदण्ड विपरित भवन निर्माण भइरहेको भन्दै अस्पालको विद्युत, खानेपानी तथा भौतिक संरचना निर्माण तत्काल रोक्न आदेश दियो ।

तर तत्कालीन पुनरावेदन अदालत जनकपुरले फेरी अस्पतालकै पक्षमा फैसला सुनाएपछि निर्माणकार्य अघि बढाइयो । मापदण्ड अनुसार भौतिक संरचना निर्माण सम्पन्न नहुँदै अस्पताल संचालनमा आयो ।

सम्बन्धित समाचार

सुत्केरी मृत्यु प्रकरण : गुण्डा भिडाएर ५ लाखमै मिलायो घटना, छुटे डाक्टर, उठ्यो लास

सुत्केरी मृत्यु प्रकरण : रामजानकी हस्पिटलबाट २४ घण्टामा पनि उठेन शव

अर्कै ग्रुपको रगत चढाउँदा सुत्केरीको मृत्युपछि रामजानकी हस्पिटलका दुई डाक्टर पक्राउ

जनकपुरको रामजानकी अस्पतालमा ‘ओ’ पोजेटिभको साटो ‘बी’ पोजेटिभ रगत चढाउँदा सुत्केरीको मृत्यु

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *