भाषा आयोगले सूचीकरण नगरेको भाषामा प्रदेश सांसदहरुलाई शपथग्रहण नगराउन माग
टुडेपाटी–
जनकपुरधाम, पुस १३ गते ।
मधेश प्रदेशमा शुक्रबार हुने सपथग्रहणमा भाषा आयोगले सूचीकरण गरेको भाषा बाहेकका भाषामा शपथग्रहण नगराउने विभिन्न संघ संस्थाले माग गरेको छ ।
भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा कार्यरत ९ अग्रणी संस्थाले आयोगले सूचीकरण गरे बाहेकको भाषामा प्रदेश सांसदहरुलाई शपथग्रहण नगराउन मधेश प्रदेशसभा सचिवालयसँग माग गरेका छन् ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नाट्यकला परिषद्का अध्यक्ष प्रमेश झा, रमानन्द युवा क्लवका अध्यक्ष मनमोहन साह, मैथिली साहित्यकार सभाका अध्यक्ष प्रेम विदेह ललन, रंग वाटिका नेपालका अध्यक्ष उपेन्द्र भगत नागवंशी र रंग दर्पणका अध्यक्ष रितेश कुमार साहलगायत भाषा अभियन्ताहरूले मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवलाई लिखित ध्यानाकर्षण गराएका छन् ।
विभिन्न संघ संस्थाले बुझाएको संयुक्त ध्यानाकर्षणपत्रमा नेपाल सरकारको आधिकारिक दस्तावेजहरुले चिन्दै नचिनेको मधेशी भाषामा शपथग्रहण गर्न दिएर संघीय संसद् सचिवालयले मुलुकमा भाषा विवाद सिर्जना गरेको बताइएको छ ।
मुलुकमा बोलिने १२३ भाषाभाषीहरुको पहिचानमाथि कुठाराघात भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
Sponsored