नेपालको नेतृत्व गरेर इतिहास रच्न पाउँदा गर्व लागेको छ : पूजा महतो
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।
पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएर देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस
नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पुजा महतोले नेपालको नेतृत्व गरेर इतिहास रच्न पाउँदा गर्व लागेको बताएकी छन् । यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएर देशको प्रतिनिधित्व गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएकी हुन् ।
बिहीबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूजाले विश्वकपमा नेपालको स्थान सुरक्षित हुनुले महिला क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको जनाइन्।्
कप्तानीको जिम्मेवारी दिएकोमा नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिँदै उनले आगामी एसिया कप र विश्वकपमा अझै मजबुत प्रदर्शन गर्ने तयारीमा रहेको उल्लेख गरिन्।
टोलीकी उपकप्तान सोनी पाख्रिनले विश्वकप छनोट सबैको लक्ष्य रहेको र क्यानको सहयोग तथा कोचिङ स्टाफ र खेलाडीहरूको कडा मेहनतले यो सपना साकार भएको बताइन्। सोनीले यूएईलाई उसैको मैदानमा हराएर च्याम्पियन बनेर फर्किंदा छुट्टै गर्वको अनुभूति भएको पनि साझा गरिन्।
Sponsored
मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले दाङको लमहीमा तयारीसँगै दिल्लीमा भएको अभ्यास खेलले छनोट सजिलो बनाएको बताउँदै यसलाई नेपाली महिला क्रिकेटको स्वर्णिम युगको शुरुवात भनेका छन्।
आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा च्याम्पियन बनेपछि नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको हो। नेपालले आगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछ भने त्यसअघि डिसेम्बरमा एसीसी यू–१९ महिला एसिया कप खेल्नेछ।
बिहीबार साँझ विश्वकपको यात्रा पूरा गरेर फर्किएको नेपाली महिला टोलीलाई त्रिभुवन विमानस्थलमा ब्याण्ड बाजासहित भव्य स्वागत गरिएको थियो। टोलीको स्वागतमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायत अन्य पदाधिकारी र क्रिकेट समर्थकहरू पनि विमानस्थल पुगेका थिए।