TodayPati

मधेश सरकारको कामप्रति सत्ता गठबन्धन नै असन्तुष्ट

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।

मधेश प्रदेशमा सत्तारुढ गठबन्धनले जनमत पार्टी नेतृत्वको सरकारको कामप्रति असन्तुष्ट रहेको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सतिशकुमार सिंह नेतृत्वको सरकारले बजेट खर्च गर्न नसकेको र जनतामा सन्तोषजनक काम देखाउन नसकेको भन्दै आलोचना भएको लोसपाका उपनेता उपेन्द्र महतोले जानकारी दिए।

उनका अनुसार, मुख्यमन्त्री, मन्त्री र गठबन्धनका नेताहरू बीच बजेट खर्चमा ढिलाइ र सरकारको कामलाई प्रभावकारी बनाउन कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल गर्ने सहमति भएको छ।

Sponsored

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार सुस्त रहेको, बजेट खर्च गर्न नसकेको र जनतामा निराशा छाएको बताए। ‘काम गर्न नसकेकाले जनतामा सरकारप्रति निकै निराशा, गुनासो, विगतको सरकार भन्दा पनि खतम छन् भन्ने टिप्पणी र नेतृत्वकर्ता दलको हैसियतले बदनामी हुन थालेपछि जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेको थियो’, उनले भने ।

प्रदेश बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) नखोलिएकाले बजेट खर्चमा समस्या भएको र यसलाई तत्काल खोल्ने निर्णय भएको पनि उनले जानकारी दिए। बैठकमा कामलाई प्रभावकारी बनाउन गठबन्धन दलहरूबीच नियमित बैठक बस्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।

नेता यादवका अनुसार यो बैठक जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सल्लाहमा आयोजना गरिएको थियो । बैठकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव, एमाले नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, र जनमत पार्टीका प्रदेश सांसद सञ्जय यादव सहभागी थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *