कमला नदीमा डुबेर तीन बालकको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, मंसिर २ गते ।
कात्तिक पूर्णिमाको अवसरमा सिरहाको कमला नदीमा स्नान गर्न गएका तीन बालकको मृत्यु भएको छ। शुक्रबार बेपत्ता भएका बालकहरूको शव शनिबार फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जानकारी दिए ।
सिराहा नगरपालिका–१५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव निर्माणाधीन हुलाकी सडकको कमला पुलदेखि करिब पाँच सय मिटर दक्षिणमा पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो। अभिषेकको शव गोताखोर टोलीले खोजी गरेको थियो।
त्यसैगरी, कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा बेपत्ता भएका मिर्चैया नगरपालिका–५ का १५ वर्षीय लक्ष्मण कुमार साहको शव पनि शनिबार मृत अवस्थामा फेला परेको छ। लक्ष्मणको शव कमला नदीको बन्दीपुर क्षेत्रमा भेटिएको हो।
यसैगरी, लक्ष्मणसँगै नदीमा नुहाउन गएका १६ वर्षीय रोशन मण्डलको शव भने शुक्रबार नै नदीमा तैरिएको अवस्थामा फेला परेको थियो। उनको शव घटनाको तीन घण्टा पछि भेटिएको प्रहरीको भनाइ छ।
Sponsored
कात्तिक शुक्ल पूर्णिमामा कमला नदीमा स्नान गर्दा भूत–प्रेत तथा घरको कुलदेवताको प्रभावबाट छुटकारा पाइने धार्मिक विश्वासले यो दिन लाखौं भक्तजन नदीमा स्नान गर्ने गर्दछन्। यसलाई झक्री मेला र भूत मेला पनि भनिन्छ।