कमला नदीमा आज कार्तिक पूर्णिमा मेला, श्रद्धालुहरूको घुइँचो
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ३० गते ।
धनुषा र सिराहा जिल्लाको सीमा भएर बग्ने कमला नदीमा आज कात्तिक शुक्ल पूर्णिमाको अवसरमा मेला लागेको छ । यसलाई कार्तिक पूर्णितमा र भूत मेला पनि भन्ने गरिन्छ ।
प्रत्येक वर्ष लाग्ने यस मेलामा एकाबिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । हिजो साँझदेखि धामी झाँक्रीसहित विभिन्न गाउँका मानिसहरू सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उत्तरवाहिनी, इनर्वालगायतका घाटमा भेला भएका छन ्।
धामी झाँक्रीहरूले आजको दिनलाई विशेष मान्छन्। उनीहरूका अनुसार कात्तिक शुक्ल पूर्णिमामा कमला नदीमा स्नान गरेपछि भूत–प्रेत र घरको कुल देवताको प्रभावबाट छुटकारा पाइन्छ । यो दिन भूत, बैताल, देवी–देवता पुज्ने र तिनबाट मुक्ति पाउने परम्परा सदियौँदेखि चल्दै आएको छ।
यस मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ। नयाँ धामी झाँक्री बन्ने, तन्त्र–मन्त्रमा सिद्ध पाउने, र विभिन्न तान्त्रिक विधिहरूको अभ्यास गर्ने मान्यता यस मेलासँग जोडिएको छ।
स्नानपछि भक्तजनहरू कमला नदीको शुद्ध पानी घर लैजान्छन्। उक्त पानी जमिनमा छर्केर पूजा तथा घर शुद्ध गर्न प्रयोग गरिन्छ ।
Sponsored
मेलामा स्थानीय क्षेत्रका मात्रै नभई भारतबाट पनि श्रद्धालुहरू ट्याक्टर, बस, जीपजस्ता सवारीसाधनमा आएका छन्। कमला नदीमा स्नान गरेर दुःख, कलेश र पापबाट मुक्ति पाइने विश्वासले लाखौँको संख्यामा भक्तजनहरू भेला भएका छन्।