धनुषामा एकै परिवारका एकजनाको हत्या, चारजना घाइते
टुडेपाटी
जनकपुरधाम, मंसिर १६ गते ।
धनुषामा एकै परिवारको एकजनाको हत्या भएको छ भने अन्य चारजना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् ।
बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादवको परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर एक्कासी आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताए ।
घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् ।
सन्तोष यादवको टाउकोमा १८ वटा टाका लागेको छ भने एउटा हतको दुईवटा औंला छिनाएको छ । अन्य समान्य घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
मतृकका कान्छो छोरा अशोकका अनुसार राति ८ बजे घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले घरेलु हतियार बञ्चरो, खुकुरीसहित आक्रमण गरका थिए । ‘बुबालाई बञ्चरो आक्रमण गरेपछि चिच्याउनु भयो । हामी आगनबाट दौडेर आउँदा हामीमाथि पनि आक्रमण गर्न थाल्यो । बुबाको त्यही मृत्यु भयो । हामी घाइते भयौं । अरु कुराहरु थाहा भएन’ अशोकले भने ।
सुरज र प्रभुको खेत एक आलीमै पर्छ । घटना करिब दुई महिना अघि सुरजको बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद हुँदा पञ्चायत भएको थियो । जसमा सुरजले माफी मागेको र सोही निहुमा एकाएक योजनावद्ध तरिकाले आफ्नो घरमाथि आक्रम गरेको अशोकको भनाइ छ ।
Sponsored
मृतकको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुन सक्ने जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले घटना हत्या जस्तै देखिएको बताए । घटनामा दुईजना घाइते भएको बताउँदै उनले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको जानकारी दिए ।