सिरहाबाट एक मलेसियन नागरिकसहित चारजना ठगी आरोपमा पक्राउ
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १३ गते ।
सिरहा प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामा ५१ वर्षीय मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान नगरपालिका–२३ का ४२ वर्षीय रामाशंकर यादव, २५ वर्षीय राम भरत यादव, र ३९ वर्षीय सुर्य नारायण यादव रहेका छन्।
सिरहा प्रहरीका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार उनीहरूले बिना अनुमति नेपाली नागरिकलाई कतार पठाउने भन्दै लहान नगरपालिका–४ स्थित गोधुली होटलमा अन्तर्वार्ता लिई रकम संकलन गरिरहेका बेला कार्तिक १० गते साँझ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई ठगी सम्बन्धी कसुरमा म्याद थप गरी जिल्ला अदालत सिरहाबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी पासवानले जानकारी दिए ।
Sponsored