बटेश्वरमा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, दर्शनिया स्कुल प्रथम
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ९ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । दिपवाली तथा छठ पर्वको अवसरमा प्रगतिशील यूवा क्लवको आयोजनामा बुधबार जनशक्ति माविको प्रांगणमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा धनुषाको महेन्द्रनगरको दर्शनिया माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै ढल्केवरको महेन्द्र मावि दोश्रो र नक्टाझिजको जनता मावि तेश्रो भएका छन् ।
विद्यार्थीहरुको अतिरिक्त ज्ञान आर्जन गर्न जागरुक गराउने उद्देश्यले आयोजन गरिएको सो प्रतियोगितामा १३ वटा विद्यालयले भाग लिएको थियो ।
प्रगतिशिल युवा क्लवका अध्यक्ष मुकेश सिंहको अध्यक्षता तथा बटेश्वर गाउँपालिका उपप्रमुख फुलकुमारी सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यालयका सहभागी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नं. १ का वडाध्यक्ष अशोक कुमार महतो, वडा २ का अध्यक्ष विजय कुमार महतो, वडा नं. ३ का वडाध्यक्ष राममणि कुशवाहा, वडा नं. ५ का वडाध्यक्ष शिवकरण यादव, वडा नं. ३ का निवर्तमान वडाध्यक्ष हिरालाल महतो, समाजसेवी राजकिशोर महतो, डा.सुनिल सिंह, जनशक्ति माविका प्रधानाध्यापक छठुलाल महतो लगायत थिए ।
Sponsored
प्रतियोगिताको सञ्चालन तथा निर्णायक मण्डलमा शिक्षक नवलकिशोर महतो, अधिकृतद्वय अमरदीप महतो र रामजीवन महतो थिए । कार्यक्रमको सञ्चालन स्थानीय युवक विजय दासले गरेका थिए भने संयोजन रामएकवाल महतो लगायतले गरेका थिए । कार्यक्रममा उल्लेख्य संख्यामा विद्यार्थी, शिक्षक र स्थानीयहरुको सहभागिता थियो ।