बटेश्वरमा भोलि हाजिरि जवाफ, निःशुल्क स्वास्थय शिविर र रक्तदान कार्यक्रम हुँदै
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १० गते ।
दिपावली एवं छठ पर्वको अवसरमा धनुषाको बटेश्वर गाउँपालिकामा युवाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको छ ।
बटेश्वर युवा संजालले शुक्रवार विहान १० बजेदेखि बटेश्वर बजारमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम आयोजना गर्न लागेको हो ।
‘तपाईको स्वस्थ्य नै हाम्रो खुशी’ नाराका साथ निःशुल्क स्वस्थ्य शिविर आयोजना गर्न लागिएको संजालका संयोजक सरोज कुमार महतोले जानकारी दिए ।
शिविरमा स्त्री रोग विशेषज्ञ, बालरोग विषेशज्ञ, जनरल फिजिसियन, नाक, कान तथा घाँटी रोग विशेषज्ञ र आँखा विशेषज्ञ चिकित्सकले सेवा दिने उनले बताए । उपचारसँगै औषधिको पनि निःशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Sponsored
महतोका अनुसार ‘आज अरुको लागि भोलि आफ्नै लागि’ नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको छ । रक्तदान कार्यक्रममा सबै सहभागीलाई प्रमाणपत्र र रक्तदाता कार्ड दिइने आयोजकले जनाएको छ ।
गाउँपालिकाका धेरै व्यक्तिलाई आफ्नै रगत समुहबारे थाहा नभएकाले उनीहरुको रगत समुह परिक्षण गरिने उनको भनाई छ ।
त्यसैगरि विद्यार्थीको चौतर्फी ज्ञानका लागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्न लागिएको संजालका संयोजक महतोले जनाए ।
‘शिक्षा नै सबैभन्दा शक्तिशाली हतियार हो, जसले संसार परिवर्तन गराउन सक्छ । विद्यार्थीले स्कुलमा किताबी कुरा त सिक्छन तर समान्य ज्ञानका कुरा कमै पढ्छन् । प्रतियोगिताले विद्यार्थीको ज्ञानको परिक्षण त हुन्छन् नै करिअर तथा आफ्नै लागि पनि अति आवश्यक समान्य कुराहरु पढ्न पनि प्रोत्साहित गर्छ,’ उनले भने ।
बटेश्वर गाउँपालिकाका सम्पुर्ण प्रा.वि. स्त्तरीय विद्यालय प्रतियोगितामा भाग लिने बताइएको छ ।
प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई प्रमाणपत्र सहित पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रममै यस वर्ष एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका दुईजनालाई सम्मान गरिनेछ ।
बटेश्वर गाउँपालिकामा समाजिक कामका लागि युवाहरुको समुहले गठन गरेको बटेश्वर युवा संजालले यसअघि पनि विभिन्न कार्यक्रमहरु गरेको थियो ।