बारामा कपडा तस्कर र प्रहरीबीच झडप, तीनजना सशस्त्र प्रहरी घाइते
टुडेपाटी-
बारा, कात्तिक ४ गते ।
बाराको विश्रामपुर गाउँपालिकाको बलिरामपुर नाकामा कपडा तस्करसँग झडप हुँदा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
हिजो बेलुकी सशस्त्र प्रहरीको कलैयामा रहेको गण र बरैनिया बीओपीबाट खटेको टोलीमाथि आक्रमण हुँदा तीन जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिए । कपडाको तीनवटा ठूलो पोका नियन्त्रणमा लिने क्रममा तस्करहरुले सशस्त्र प्रहरीको टोलीमाथि लाठी र बाँसको भट्टासहित आक्रमण गरेको उनले बताए ।
उनका अनुसार तस्करहरुले कपडासमेत खोसेर भारततर्फ नै फिर्ता लगेका छन् । बलिरामपुरमा सशस्त्र प्रहरीको फरवार्ड बेसका सशस्त्र प्रहरी निरीक्षक होमबहादुर खत्री र प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेलले मासिक रकम लिएर कपडा तस्करी गराइरहेको सूचना पाएपछि सशस्त्र प्रहरीको गणबाट कपडा समात्न टोली परिचालन गरिएको थियो ।