उखु किसानको पारिश्रमिक माग गर्दै संसदीय समितिमा ज्ञापन
टुडेपाटी-
जनकपुरधाम, असोज २५ गते ।
रौतहटको श्रीराम सुगर मिल्सबाट पारिश्रमिक भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानले श्रीराम सुगर मिल्सबाट आफूहरूले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् ।
उखु उत्पादक संघका सचिव सफीन्द्रप्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । श्रीराम सुगर मिल्सले ११ साउन २०७७ सूचना प्रकाशन गरी सधैँको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । योसँगै आफूहरूले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरू मारमा परेको सचिव यादवले गुनासो गरेका छन् ।
उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दसैँअघि नै पाउने व्यवस्था मिलाइदिन पनि किसानले समिति समक्ष माग गरेका छन् । त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलबरभत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दसैँअगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।
आफ्ना मागको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफूहरू आशावादी रहेको पनि किसानले बताएका छन् । चिनि मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरू अन्योलमा परेको उनीहरूले गुनासो गरेका छन् ।
Sponsored
किसानले आर्थिक वर्ष २०७१र७२ को १२ करोड, आर्थिक वर्ष २०७५र७६ को २८ करोड ५० लाख र आर्थिक वर्ष २०७६र७७ को ५० लाख रुपैयाँ गरी ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताए ।