TodayPati

९६ क्यारेट अवैध अण्डा नष्ट

टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।

सशस्त्र प्रहरी बलले अवैध रूपमा आयात गरिएका सेतो अण्डा बरामद तथा नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध रूपमा भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएपछि प्रहरीले बरामद तथा नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ।

सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ का प्रमुख तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कालीदास धौवजीका अनुसार प्रदेशका आठवटै जिल्लामा दैनिक रूपमा सेतो अण्डा बरामद गरी नष्ट गर्ने कार्य भइरहेको छ।

बुधबार मात्र सिरहाबाट २४ क्यारेट, सर्लाहीबाट ३२ क्यारेट, रौतहटबाट ४० क्यारेट गरी कुल ९६ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरिएको छ।

डिआइजी धौवजीका अनुसार सशस्त्र प्रहरीले अवैध पोल्ट्रीजन्य पदार्थको ओसारपसार नियन्त्रणलाई अभियानका रूपमा अघि बढाएको छ। नेपाल लेयर्स कुखुरापालक संघले भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुहरूले स्थानीय व्यवसायमा असर पार्ने र भारतका विभिन्न प्रान्तमा देखापरेको बर्डफ्लु नेपाल भित्रिने उच्च जोखिम भएकाले नियन्त्रण गर्नुपर्ने विषयमा मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराएको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *