जनकपुरको अवैध सीता अस्पतालका म्यानेजरसहित दुईजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।
अवैध रहेको पाइएपछि मधेश प्रदेश सरकारले बन्द गराइसकेको अस्पताल प्रक्रिया पूरा नगरी पुनः संचालन गरेको भन्दै म्यानेजरसहित दुईजना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोकस्थित जनकपुर सिता हस्पिटलका म्यानेजर मधु महतो र बिचौलिया सुभाष मुखियालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अस्पताल दर्ता नगरी सञ्चालन गर्दै मापदण्ड उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो ।
गत माघ २६ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनको क्रममा सो अस्पताल दर्ता नगरिएको र मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाएका थिए । त्यसपछि मुख्यमन्त्री सिंहले अस्पताललाई दर्ता गराएर सञ्चालन गर्न निर्देशन दिएका थिए । केही समय अस्पताल बन्द राखेर प्रक्रिया पूरा नगरी पुनः सञ्चालनमा ल्याइएको खबरपछि प्रहरीले पक्राउ गरेको हो ।
अस्पतालको मुख्यद्वारमा ‘यो अस्पताल अनिश्चितकालको लागि बन्द गरिएको छ’ भन्ने बोर्ड झुण्ड्याइए पनि भित्र भने उपचार भइरहेको थाहा पाइएपछि उनको निर्देशनमा त्यहाँ उपचार गरिरहेका दुईजना पक्राउ परेका हुन् ।