TodayPati

बबिता अढाई महिनादेखि बेहोस, उपचार गराउन श्रीमान आर्थिक सहयोगका लागि भौतारिँदै

टुडेपाटी-
जनकपुरधाम, चैत १५ गते ।

जनकपुरको अवैध मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बेहोस भएकी २५ वर्षीया बबिताकुमारी यादव दुईमहिना बित्दा समेत अचेत छिन् । माघ ३० गतेदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) मा उनको उपचार भइरहेको छ । चिकित्सकहरूले अवस्था सुधारोन्मुख रहेको बताए पनि होस भने अझै आएको छैन । उनका श्रीमान् अंगेशकुमार यादवका अनुसार, आर्थिक अभावकै कारण प्रभावकारी उपचार हुन सकेको छैन । औषधि किन्ने पैसा नहुँदा पुनः पुरानै अवस्था बिग्रिने गरेको छ ।

‘एकसाता अघि अक्सिजन पाइप हटाउँदा २४ घण्टासम्म आफैँ सास फेर्न सकिन् । तर औषधि रोकिँदा फेरि अघिकै अवस्थामा फर्किन्,’ अंगेशले दुखेसो पोखे । अस्पतालले उपचार जारी राखेपनि फार्मेसीले औषधि उधारो दिन अस्वीकार गर्दा समस्या उत्पन्न भएको हो । हालसम्म अस्पतालको फार्मेसीको करिब एकलाख रुपैयाँ उधारो तिर्न बाँकी छ । केएमसी अस्पतालमा भर्ना भएदेखि औषधिमा मात्र ५ लाख भन्दा बढी खर्च भइसकेको छ । अस्पतालको सबै उपचार खर्च तिर्न बाँकी नै रहेको अंगेश बताउँछन् ।

चिकित्सकहरूका अनुसार छ महिना निरन्तर प्रभावकारी उपचार हुन सके बबिताको होस फर्कने सम्भावना छ । तर, आर्थिक अभावकै कारण औषधि उपचार प्रभावकारी हुन नसक्दा यो सम्भावना क्षीण बन्दै गएको छ । अंगेशका अनुसार, उपचारका लागि हालसम्म ऋण र सापटी गरेर १५ लाखभन्दा बढी खर्च भइसकेको छ ।
अंगेश एकलै अस्पतालमा कुरुवा बसेका छन् । उनलाई त्यहाँ खाजा खाना खान समेत पैसा पुग्दैन । औषधि उधारो दिन छाडेपछि अंगेशले तत्काल एक आफन्तबाट २० हजार फार्मेसीलाई बुझाई, आफन्तलाई कुरुवा राखेर मंगलबार ऋण सापटी खोज्न गाउँ आएका छन् ।

‘गाउँघरमा ऋण र सापटी भेट्न मुस्किल छ । अब खाता खोलाएर आर्थिक सहयोग मागेर भएपनि श्रीमतीलाई उपचार गराएर बचाँउने प्रसास गर्छु । राम्रो उपचार भए बबिता बाँच्न सक्छिन् । नत्र मेरो दुई सन्तान टुहुरो हुन्छ’ अंगेश भन्छन् ।
घरमा उनका वृद्ध आमाबुबा र दुई सन्तान छन् । अस्पतालमा रहँदा खानपिनको समेत समस्या भइरहेको उनले बताए । ‘पैसा नहुँदा मलाई खाना खान पुग्दैन । कुनैदिन भोकै पनि बस्नुपर्छ । कहिले अरुले खुवाइदिन्छन्’ अंगेश पीडा पोख्छन् ।

गाउँघरमा ऋण र सापटी पाउनै छाड्यो । बबिताको घरको आर्थिक स्थिति कमजोर छ । अंगेश भारतको हैदरावादस्थित बोरा सिउने कम्पनीमा मजदुरी गरिरहेको बेला बबिताको स्वास्थ्य बिग्रिएको खबरपछि उनी नेपाल फर्किएर अस्पतालमा कुरुवा बस्दै आएका छन् ।

बबिताको उपचारमा लापरबाही सम्बन्धि समाचार सार्वजनिक भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरको पीडारीचोक स्थित कमल राइन संचालक रहेको अवैध मुस्कान अस्पतालमा छड्के गरेका थिए । विना स्वीकृति संचालन रहेको पाएपछि अस्पताल बन्द गराउँदै मुख्यमन्त्री सिंहले बबिताको राम्रो अस्पतालमा लगेर उपचार गराउन र सम्पूर्ण खर्च तिर्न निर्देशन दिएका थिए । तर, अस्पतालका संचालकहरूले अहिलेसम्म कुनै चासो नदेखाएको अंगेशको गुनासो छ ।

मधेश सरकारको निर्देशनमा मुस्कान अस्पताललो एकलाख रुपैयाँ पीडित पक्षलाई दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषामा दुबै पक्षबीच छलफल समेत भएको थियो । धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार छलफलबाट उपचारको लागि तत्काल पाँच लाख रुपैयाँ दिने, उपचार गर्ने, बीचबीचमा समन्वय गर्ने र बाँकी अन्तिममा गर्ने सहमति भएको थियो । ‘सहमति कार्यान्वयनका लागि मैले डिएसपीसाबलाई भनेको थिए । कार्यन्वयन भएन भने कानुन कारबाही प्रक्रिया छँदैछ’ एसपी तिवारीले भने ।

सहमतिको केहीदिनपछि अंगेशले संचालकलाई सम्पर्क गर्दा त्यस यता सो नम्बरमा फोन लागेको छैन । अस्पताल संचालक फोन अफ गरेर सम्पर्कविहीन बनेका छन् ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकलाख रुपैयाँ दियो । तर तीनदिनपछि फेरि संचालकलाई सम्पर्क गरे । उनले स्वीच अफ गरेका छन्’ अंगेश भन्छन् ‘म के गरु ? सरकारले त्यसलाई पक्राउ गर्दैनन् । नत उपचार खर्च तिर्न लगाउँछ । नत कारबाही प्रक्रिया अघि बढाउँछ’

मुस्कान अस्पतालको चरम लापरबाहीले अंगेशको परिवार कठिन परस्थितिमा पुगेको छ । श्रीमान अंगेशले उपचारमा सहयोग गर्न सबै पक्षसँग गुहार गरेका छन् ।
‘श्रीमती बबितालाई प्रभावकारी उपचारको लागि हामीलाई रुपैयाँपैसाको चरम अभाव छ । सबै पक्षलाई उपचारको लागि सहयोग गरिदिन आग्रह गर्छु’ उनले गुहार गरे । उनी आर्थिक सहयोगको निम्ति बैंकमा खाता खोलाउन लागेका छन् ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह सरकारको खातामा पीडितलाई आर्थिक सहयोग गर्ने खर्च शीर्षक नरहेको बताउँदै उपचार खर्च नतिर्ने मुस्कान अस्पताल र त्यसमा संलग्नमाथि मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिने बताए । ‘सरकारको कोषमा उपचारको लागि बबितालाई दिने आर्थिक सहयोग छैन । अब उपचारमा लापरबाही गर्ने संचालकसहितलाई पक्राउ गरेर कारबाहीको लागि निर्देशन दिन्छु’ मुख्यमन्त्री सिंहले भने ‘स्वास्थ्यसंग खेलबाड गर्ने अस्पताल उपचार खर्च दिँदैन भने पक्राउ गरेर कानुन बमोजिम कारबाही हुन्छ’

मुस्कान अस्पतालले शल्यक्रियामा चरम लापरबाही गरेको भन्दै बबिताकी बुबा ब्रह्मदेव यादवले माघ तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषा र नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत दिएका थिए ।

सर्लाहीको हरिपुर्वा नगरपालिका ५ की बबिता दलालको फन्दामा परेर दर्ता विनाकै मुस्कान अस्पतालमा पित्त थैलीको अपरेसन गराउन पुगेकी थिइन् । सो अस्पतालमा ३ माघमा सर्जन डा. ज्ञानकुमार साह नेतृत्वको टोलीले बबिताको शल्यक्रिया गरेको थियो । त्यस यता बबिताको होस आएको छैन ।

मुस्कान अस्पतालमा तीन दिनसम्म होस नआउँदा स्नायु सम्बन्धि समस्या रहेको भन्दै बाहिर उपचार गर्न लग्न भनेको थियो । ६ माघमा परिवारजनले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरेका थिए । आर्थिक अभावमा परिवारजनले त्यहाँबाट थप उपचारको लागि राम्रो अस्पतालमा बाहिर लग्न सकेका थिएनन् ।

२९ माघामा काठमाडौंको वीर अस्पतालमा लगिएको थियो । तर बीरमा भेन्टिलेटर खाली नभएको भनेपछि केएमसीमा ३० माघमा भर्ना गरिएको हो ।
वविता यादवको घटनाको सार्वजनिक भएपछि मुख्यमन्त्री सतिशकुमार सिंह निजी अवैध अस्पतालसहितका स्वास्थ्य संस्थाप्रति निर्मम बनेका छन् । नियमित छड्के अनुगमन जारी राख्दै उनले जनकपुरसहित आठवटै जिल्लामा करिब डेढसय हस्पिटल, क्लिनिकसहितका स्वास्थ्य संस्थामा छड्के गरिसकेका छन् । त्यस क्रममा करिब झण्डै एकसय अवैध स्वास्थ्य संस्था बन्द गराउन सफल छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *