सिरहाको मिर्चेयामा १४ निजी अस्पतालको अनुगमन गर्दा १३ बन्द गराइयो
टुडेपाटी-
जनकपुरधाम, चैत १६ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सिरहाको मिर्चेयामा शनिबार १४ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । अनुगमनपछि सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिक बन्द गराइएको छ ।
मुख्यमन्त्री सिँह नेतृत्वको टोली मिर्चेया बजार प्रवेश गरेको जानकारी पाएलगत्तै अनुमति बिना सञ्चालनमा रहेका आठ स्वास्थ्य संस्थाका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार अनाधिकृत रूपमा सञ्चालन भइरहेका ती संस्थाका कर्मचारीहरू कारबाहीको डरले फरार भएका हुन्।
बन्द गराइएका अस्पतालहरूमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर (पोलिक्लिनिक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक समावेश छन्।
यस्तै, १५ शय्याको अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालले मापदण्ड पुरा नगरी २५ शय्याभन्दा बढीको सेवा सञ्चालन गरिरहेको भेटिएकाले १५ दिनभित्र मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ। प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव एवं जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार सो अस्पतालले एनेस्थेसियाका चिकित्सक बिना नै मेजर शल्यक्रिया गरिरहेको थियो भने भेन्टिलेटरसमेत उपलब्ध थिएन।
अनुगमनका क्रममा सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र उनीहरूका कुरुवालाई अस्पतालभित्र छाडेर बाहिरबाट सटर बन्द गरी फरार भएका थिए। घटनास्थलमा भेटिएका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जनस्वास्थ्य अधिकृत ठाकुरले निर्देशनअनुसार अस्पताल बन्द गरिएकाले नियन्त्रणमा लिइएका दुईजनालाई शनिबार नै रिहा गरिएको बताए।
मुख्यमन्त्री सिँहले हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिसकेका छन्। तीमध्ये १७ अस्पताल मात्र मापदण्डअनुसार सञ्चालन भइरहेको पाइयो भने १०८ अस्पताल बन्द गराइएको छ। नवीकरण नगराएका २५ अस्पताललाई प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। यसमध्ये पाँच अस्पताल मापदण्ड पूरा गरेपछि पुनः सञ्चालनको अनुमति पाएका छन्।