रिंकु सदा मृत्यु प्रकरण : वडासदस्य कारागार चलान, ६ जना धरौटीमा रिहा
टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।
सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका वडासदस्य कारागार चलान भएका छन्। मंगलबार सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले वडासदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।
उनी घटनामा संलग्न रही मिलापत्र गराउने पञ्चायती बस्ने व्यक्तिहरू मध्ये एक भएको आरोपमा मुद्दा चलाइएको थियो। उनलाई सिरहा कारागार चलान गरिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
यस्तै अदालते प्रतिवादी रामकृपाल मण्डल, विन्देश्वर साह, कारी भनिने करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ। त्यस्तै, रामविनोद मण्डल र कमलेश कुमार दासलाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरिएको छ।
उनीहरूमाथि जातीय छुवाछुत तथा भेदभाव, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी तथा मिलापत्र गराउने जस्ता अपराधमा संलग्न रहेको आरोपमा मुद्दा दायर गरिएको छ। विशेष गरी, बलात्कारको आरोप लागेपछि गाउँमा पञ्चायती सभा बसेर मिलापत्र गराउने प्रयास गरिएको भन्दै मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २२७ को (क) अनुसार उनीहरू विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको हो।
हालसम्म बलात्कार तथा अपहरणका मुख्य आरोपी दुई जना र पञ्चायती मिलाउन संलग्न आठ जना गरी जम्मा १० जना अझै फरार छन्।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनको मृत्युमा सामूहिक बलात्कारको आरोपदेखि लिएर घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्मका गम्भीर आरोपहरू लागेका छन्।
रिंकु आफ्नी आमा र भाइसँग बस्दै आएकी थिइन्। २६ माघको राति करिब ९ बजे शौच गर्न घर बाहिर गएकी रिंकु करिब ६ घण्टासम्म घर फर्किनन्। भोलिपल्ट बिहान ३ बजे रोइरहेको अवस्थामा उनी घरबाहिर फेला परिन्। घर फर्किएपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन्। परिवारका सदस्यहरूका अनुसार रिंकुले स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले आफूलाई बलात्कार गरेको दाबी गरेकी थिइन्।
घटनाको चार दिनपछि ३० माघ साँझ रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिइन्।
रिंकुले बलात्कार भएको बयान दिएपछि गाउँमा २९ माघमा मिलापत्रका लागि छलफल बोलाइएको थियो। पञ्चायती सभामा रुपेश मण्डललाई १ लाख ५० हजार जरिबाना तिराउने निर्णय गरिएको थियो। तर, पीडित परिवारले उक्त निर्णय अस्वीकार गरे। रुपेशका बुवा देवानाथ मण्डलले पनि जरिबाना तिर्न अस्वीकार गरेपछि विवाद उत्पन्न भएको थियो ।
३० माघमा पुनः पञ्चायती सभा बसाइएको थियो, जसमा रिंकुले आफूमाथि रुपेशसहित अन्य दुई जनाले बलात्कार गरेको बयान दिएकी थिइन्। पञ्चायती सभामार्फत घटना दबाउन खोजिएको केही समयमै रिंकु मृत अवस्थामा फेला परेकी थिइन्।
प्रहरी अनुसन्धानले पनि पञ्चायती सभा बसेर घटना मिलाउने प्रयास गरिएको पुष्टि गरेको छ। हाल घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी जारी छ।