TodayPati

पत्रकार र संचारगृहमाथि आक्रमण गर्ने दोषीमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघ मधेशको माग

टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमणमा संलग्न दोषीहरुमाथि कडा कारबाहीको माग गरेको छ ।

महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा पत्रकारहरुले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न माग गरेको हो । साथै मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइते पत्रकारहरूको उपचारको प्रबन्ध गर्न तथा अन्य मुद्दाहरूमा शीघ्र कार्यवाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु भएको तथा अन्य सञ्चारमाध्यम र पत्रकारहरूलाई लक्षित गरेर आक्रमण गरिएको घटनाले सञ्चार क्षेत्र त्रसित बनेको महासंघले जनाएको छ । रजकले भिडियो खिच्ने क्रममा आगोमा जलेर ज्यान गुमाएका थिए ।

यस्तै, अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी तथा तोडफोड गरिएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा प्रहार गरी क्षति पुर्याइएको, हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड गरिएको, अनलाइनखबरका पत्रकार दिनेश गौतममाथि भएको आक्रमणमा उनको खुट्टा भाँचिएको छ। यस्तै फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको घटनाहरू समेत घटेका छन्।

महासंघले घटनामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न, मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, रोजगारीको व्यवस्था गर्न तथा उनको सन्तानको उच्च शिक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

सञ्चारकर्मीमाथि भएको आक्रमणबारे महासंघले सरकारलाई कानुनी कठघरामा ल्याउने तथा यथोचित क्षतिपूर्ति उपलब्ध गराउने दबाब दिएको छ। साथै, घाइते पत्रकारहरूको शीघ्र उपचारका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ। महासंघले घटनाले पत्रकारहरूको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रता खतरामा पार्ने हुँदा यसको जिम्मेवारी सरकारले लिनुपर्ने समेत माग गरेको छ।

यस्तै नेपाल पत्रकार महासंघ धनुषा शाखाले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । धनुषा शाखा अध्यक्ष पूरण गुप्ताको नेतृत्वमा पुगेका पत्रकारहरुको टोलिले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापन पत्र बुझाउँदै संचार र पत्रकारहरुमाथि आक्रमण गर्नेहरुमाथि कारबाहीको माग गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *