सिराहामा डोम परिवारको घर भत्काउने पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष धरौटीमा रिहा
टुडेपाटी–
जनकपुरधाम, चैत १६ गते ।
सिराहाको औरही गाउँपालिकामा महायज्ञका नाममा दलितको घर भत्काउने घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव शुक्रबार एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही एक लाख धरौटी मागेपछि उनीहरू धरौटी बुझाएर छुटेका हुन्।
स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता भई थुनछेक बहस भएको थियो। अदालतले उनीहरूलाई १९ वैशाखमा पुनः हाजिर हुन आदेश दिएको छ।
१० फागुनमा महायज्ञका लागि मण्डप बनाउने भन्दै औरहीका दीपक मल्लिक (डोम) को घर डोजर लगाएर भत्काइएको थियो। यो घटनामा संलग्न महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन्।
पीडित दीपकले ९ चैतमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा तीनैजनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो।