विदेहबाट सरुवा भइ आयोजना प्रमुख बनेका साहको महिना नपुग्दै सरुवाको माग, १३ गम्भीर आरोप
टुडेपाटी-
जनकपुरधाम, चैत १२ गते ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त आयोजना प्रमुखको रूपमा सरुवा भएका तृतीय श्रेणीका इन्जिनियर दीपेन्द्रकुमार साहलाई उक्त पदबाट हटाउन कर्मचारीहरूले माग गरेका छन् । गत फागुन १९ गते मात्र कार्यालयमा हाजिर भएका साहले कानुन विपरीत तानाशाही रवैया अपनाएको भन्दै १७ जना कर्मचारीहरूले खानेपानी मन्त्री, मन्त्रालय तथा विभागलाई संयुक्त हस्ताक्षरसहितको निवेदन पठाएका छन् । उनीहरुले निवेदनमा साहविरुद्ध १३ गम्भीर आरोप लगाइएका छन् ।
साहले विभिन्न आयोजनासम्बन्धी महत्त्वपूर्ण कागजातहरू जबरजस्ती जफत गरी आफ्नो डेरामा राख्ने, असम्बन्धित व्यक्तिहरूलाई प्रमुख कार्यकक्ष र क्वार्टरमा प्रवेश गराउने तथा कार्यालयमा अनधिकृत भोजभतेर गर्ने जस्ता गतिविधिहरू गरिरहेको निवेदनमा उल्लेख छ । साथै, कर्मचारीलाई भेट्न जाँदा ‘गोप्य कुरा भइरहेको छ, बाहिर जानु’ भन्दै दुव्र्यवहार गरेको आरोप लगाइएको छ ।
साहले सरकारी स्रोतसाधनको दुरुपयोग गर्दै करारका कर्मचारीलाई व्यक्तिगत सेवा कार्यमा खटाएको, कार्यालय सहयोगीलाई भान्से बनाएको, व्यक्तिगत सरसफाइ गर्न लगाएको तथा कर्मचारीलाई ‘तँ तँ तिमी’ भनेर सम्बोधन गर्दै गालीगलौज गर्ने गरेको कर्मचारीहरुको आरोप छ ।
कानुनी प्रक्रिया नपु¥याई व्यक्तिगत अंगरक्षक र स्वकीय सचिव नियुक्त गरेको, नायब सुव्वा बालबोध कुमार ठाकुरलाई अनुचित कार्य गर्न दबाब दिएको, आदेश पालना नगर्दा स्पष्टीकरण सोधिएको तथा सिनियर कर्मचारीहरू हुँदाहुँदै आफूलाई निमित्त प्रमुख तोकिएको विषयमा पनि कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
त्यसबाहेक, साहले धनुषाको विदेह नगरपालिकामा बरबुझारथ नगर्दा कार्यालयका आवश्यक सामान खरिदमा समस्या उत्पन्न भएको, बिल भुक्तानी प्रक्रियामा अवरोध आएको र कार्यालयको कामकाज नै प्रभावित भएको निवेदनमा उल्लेख छ ।
यस विषयमा निमित आयोजना प्रमुख साहले आफू अहिले केही नभन्ने र भोलि मात्र यस बारे स्पष्ट पार्ने बताए ।
साह यसअघि, धनुषाको विदेह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । माघ पहिलो साता प्रमुख प्रशासकीय अधिकृतमा त्यहाँ हाजिर भएका उनले शिक्षक सेवा आयोगको सिफारिसमा आएका एक शिक्षिकालाई हाजिर गराएको निहुँमा नगरप्रमुख बेचन दासका छोराबाट कुटपिट सहनु परेको थियो । त्यसपछि उनले ८३ कर्मचारीलाई कारबाही गरेका थिए । जसमा करार तथा ज्यालादारीमा कार्यरत ८० कर्मचारीको बर्खास्ती पनि समावेश थियो । कर्मचारीहरूको विरोधपछि कार्यालय प्रवेश गर्न नपाएका साह अन्ततः माटो ढोगेर फर्किएका थिए । त्यसपछि उनको सरुवा ढल व्यवस्थापन कार्यालय जनकपुरमा भएको थियो ।


