TodayPati

बटेश्वर गापामा प्रावि तहका ९ शिक्षक दरबन्दी रिक्त, स्थायी दिन खोज्दा बेवास्ता

टुडेपाटी-
जनकपुरधाम, चैत ६ गते ।

धनुषाको बटेश्वर गाउँपालिकाका पाँच विद्यालयमा प्राथमिक तहका ९ जना स्थायी शिक्षकको दरबन्दी रिक्त रहेको छ । शिवशक्ति माविमा ४, जनशक्ति माविमा २, बौद्ध प्रावि, लक्ष्मी निमावि र शान्तिपुर निमाविमा १–१ जना प्राथमिक शिक्षकको पद खाली छ । दरबन्दी रिक्त हुँदा हाल करारका शिक्षक नियुक्त गरेर पठनपाठन सञ्चालन भइरहेको छ ।

पालिका प्रमुख रामअशिष महतोसहितका जनप्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकहरूले विभिन्न सार्वजनिक मञ्चहरूमा शिक्षक दरबन्दीको अभावबारे गुनासो गर्दै आएका छन् । उनीहरूले संघीय सरकारले आवश्यक दरबन्दी अनुसार स्थायी शिक्षक उपलब्ध नगराएको आरोप लगाउँदै आएका छन् ।

शिक्षक सेवा आयोगबाट भर्खरै छनोट भएका प्राथमिक तहका शिक्षकहरूको स्थायी नियुक्तिका लागि शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले फागुन तेस्रो साता सूचना जारी गरेको थियो । तर, ९ शिक्षकको दरबन्दी खाली रहेको बटेश्वर गाउँपालिका कार्यालयले निर्धारित समयसीमाभित्र कुनै चासो देखाएन।

बटेश्वर गाउँपालिकाको शिक्षा शाखाका प्रमुख रामलाल महतोले ९ जना शिक्षक दरबन्दी रिक्त रहेको स्वीकार गरे । तर, उनले कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रेवती पौडेल काम विशेषले बाहिर रहेकाले चैत ४ गतेसम्म माग फारम बुझाउन नसकेको जिकिर गरे । एकदिन ढिलो चैत ५ गते मात्र माग फारम इकाइमा पठाएको उनले बताए ।
स्थायी शिक्षक पदपुर्तिका लागि चाँसो नरख्नुको कारण करारका शिक्षकलाई निरन्तरता दिन खोजिएको हो भन्ने टुडेपातटीको जिज्ञासामा उनले भने, ‘त्यस्तो होइन । हामीले ९ शिक्षकको माग गरिसकेका छौं । मौखिक र लिखित रूपमा समन्वय इकाइसँग समन्वय गरिरहेका छौं ।’

पालिका अध्यक्ष महतोले भने आफूले चैत ५ गते मात्र यसबारे जानकारी पाएको दाबी गरे। ‘शिक्षक स्थायी पदपूर्ति गर्ने विषयमा म मंगलबार मात्र जानकार भएँ। त्यसपछि तत्कालै निर्णय गरेर शिक्षा शाखालाई समन्वय इकाइमा माग पठाउन निर्देशन दिएको छु,’ उनले भने ।

करारका शिक्षक पदपुर्ति गर्दा हुने रकम चेलखेल तथा आफ्ना नतागोतालाई भर्ना गरेको कारण उनीहरुलाई नै कायम राख्न स्थायी शिक्षक मागमा बेवास्ता गरेको स्थानीयको आशंका छ । भर्खरै शिक्षक सेवा आयोगको परीक्षाबाट बटेश्वर गाउँपालिका भरिका ७ जना युवाहरु नाम निकालेर सिफारिसको चरणमा छन् ।

समन्वय इकाइ धनुषाका प्रमुख चेतकुमार पोखरेलका अनुसार चार पटकसम्म शिक्षक माग फारम पठाउन आग्रह गर्दा पनि बटेश्वरसहित ६ वटा पालिकाले समयमै अनुरोध पठाएनन् ।
त्यस कारण माग गरेको १२ वटा पालिकामा १०७ शिक्षकलाई स्थायी नियुक्तिका लागि चैत ५ गते पालिका छनौट सम्बन्धि ७ दिने सूचना प्रकाशन गरेको उनको भनाइ छ ।

प्रत्येक पालिकामा कम्तीमा प्राथमिक तहमा कम्तीमा सातजना शिक्षक दरबन्दी रिक्त भएपनि स्थायी पदपुर्ति गर्न चाहँदा केही पालिकाले वास्ता नगरेको उनले बताए ‘प्रत्ययेक पालिकामका कम्तिमा ७ जना प्राथमिक तहमा शिक्षक दरबन्दी रिक्त छ । समन्वय इकाइले चारपटकसम्म पालिकाहरुलाई शिक्षक माग फारम पठाइदिन आग्रह गरेको छ । तर केही पालिकाले वास्ता गरेन । के नियत हो उनीहरुलाई नै थाहा होला’ समन्वय इकाइ प्रमुख पोखरेलले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *