धनुषाका शिवशंकर महतो हत्या प्रकरणः श्रीमती सिर्जना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, चैत ११ गते ।
धनुषाका २५ वर्षीय शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमती सिर्जनालाई पक्राउ गरेको छ । बिहीबार नै उनक श्रीमती सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका शिवशंकरको विभत्स हत्या भएको अवस्था गत शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–८, सागरनाथ वनमा फेला परेको थियो । शुक्रबार साँझ ५ः३० बजे फेला परेको शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिन्छ । शवलाई घिसारेर केही पर लैजान खोजिएको संकेत समेत देखिएको डीएसपी जयसवारले बताए। शवको सनाखतपछि शिवशंकरको हत्याको रहस्य खुलेको थियो । श्रीमती सिर्जना र १० महिनो छोरासँगै गत विहीबार दिउँसो ससुराली हिडेका थिए । घरपरिवार उनी ससुरालीमा रहेको भनेर ढुक्क थिए ।
उनको सुराली बर्दिबास नगरपालिका–५, पशुपतिनगर बन्द्र हो । शिवशंकरको भाइ राम महतोका अनुसार उनीहरू मोटरसाइकलमा महेन्द्रनगरसम्म पुगेका थिए। त्यसपछि सिर्जनाले माइतबाट दुई वटा मोटरसाइकल बोलाएकी थिइन् । एक मोटरसाइकलमा सिर्जना छोरासहित थिइन् भने अर्कोमा शिवशंकर सवार थिए। मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ।
प्रहरीले हत्या कुनै व्यक्तिगत रिसइबी वा प्रेम सम्बन्धकै कारण भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ । करिब डेढ महिना अघि मात्रै शिवशंकर मुम्बईबाट धनुषा फर्किएका थिए । परिवारका अनुसार केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकर कुटपिटको सिकार भएका थिए। त्यसपछि उनी पुनः ससुराली जान मानेका थिएनन्। तर सिर्जनाले ‘नाना बित्नुभयो’ भन्दै उनलाई ससुराली जान बाध्य पारेको भाइ रामले दाबी गरेका छन् ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी अनुसन्धानलाई थप तीव्रता दिने जनाएको छ।