सिरहाको औरही गाउँपालिका अध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित
टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।
सिरहाको औरही गाउँपालिका–५ निवासी दीपक मरिक डोमको परिवार गाउँबाट विस्थापित भएको छ । गाउँपालिका अध्यक्ष शिवजी यादवका आफन्त र समर्थकहरूले गालीगलोज तथा धम्कीको कारण दीपकसहित उनका परिवारका सदस्यहरु घर छोड्न बाध्य भएका हुन् ।
गत फागुन १० गते श्री श्री १०८ विष्णु महायज्ञको नाममा दीपक मरिक डोमको घर डोजर लगाएर भत्काइएको थियो। घटनाबारे जानकारी बाहिरिएपछि सो घटनामा संलग्न औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।
पालिका अध्यक्ष पक्राउ परेपछि उनका छोरा रुकेश यादवसहित केही स्थानीयहरू दीपकको घरमा पुगेर गालीगलोज र धम्की दिएका थिए । त्रासकै कारण दीपककी श्रीमती अनिता राति वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिइन् । दीपक पनि त्यहीँ छन् । नका छोराछोरीहरू औरही प्रहरी चौकीमा गएर रात बिताउन बाध्य भए।
दीपकले भने, “पालिका अध्यक्ष पक्राउ परेपछि उहाँका छोरा रुपेश यादवले केही महिलाहरू लिएर आएर गालीगलोज गरे। मेरी श्रीमती अनितालाई गाउँ छोड्न दबाब दिए। डरको कारणले हामी शरण लिन बाध्य भयौं। मेरा बालबच्चाले रात औरही प्रहरी चौकीमा बिताए।“
यसैबीच, पालिका अध्यक्ष पक्राउको विरोधमा उनका समर्थक तथा आफन्तहरूले जिल्ला प्रहरी कार्यालय, सिरहामा गएर ढुंगामुढा गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दा केही व्यक्ति सामान्य रूपमा घाइते भएका छन्।
गाउँपालिका प्रशासनले विष्णु महायज्ञका लागि भन्दै दीपकको घरमात्रै भत्काएको थिएन, उक्त स्थानबाट करिब दुई फिट माटोसमेत हटाइएको थियो।