ससुराली निस्केका शिवशंकरको विभत्स हत्या, मोटरसाइकलमा दुई युवकले लगेको पुष्टि
टुडेपाटी-
जनकपुरधाम, चैत १० गते ।
धनुषाका एक युवकको अपहरणपछि विभत्स हत्या भएको छ। क्षिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको शव महोत्तरीको गौशाला नगरपालिका–८, सागरनाथ वनमा फेला परेको हो।
शुक्रबार साँझ ५ः३० बजे रेल्वे ट्रयाकदेखि करिब १०० मिटर दक्षिण शव भेटिएको महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए। ‘शव र घटनास्थलको अवस्था हेर्दा हत्या भएको अनुमान गरिएको छ। विस्तृत विवरण अनुसन्धानबाट खुल्नेछ,’ उनले भने।
शनिबारमात्र परिवारले शवको सनाखत ग¥यो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार शव नग्न अवस्थामा थियो, खुकुरी प्रहारबाट शरीरभरि घाउ थियो, र मुखमा आगो लगाइएको जस्तो देखिन्थ्यो।
शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना र १० महिने छोरासहित ससुराली, बर्दिबास नगरपालिका–५, पशुपतिनगर बन्द्र जान घरबाट निस्किएका थिए। भाइ रामका अनुसार उनीहरू मोटरसाइकलमा महेन्द्रनगरसम्म पुगेका थिए। त्यहाँबाट सृजनाले माइतबाट दुईवटा मोटरसाइकल मगाएकी थिइन्।
एकमा १० महिने छोरासहित आफैं चढिन् भने अर्कोमा शिवशंकर । सिसिटीभी फुटेजमा सो कुरा देखिएको छ । महेन्द्रनगरको महिला विकासचोकमा तीनजना युवक दुईवटा मोटरसाईकलमा आएको देखिन्छ । एकजना भएको मोटरसाईकलमा छोरा काँखमा लिएर श्रीमती सृजना चढेको देखिन्छ । अर्को दुई युवक भएको मोटरसाईकलमा बीचमा शिवशंकरलाई चढाएको देखिन्छ । त्यहाँबाट दुवै मोटरसाईकल एकैपटक निस्केको समेत देखिएको छ । ती दुई युवकले नै त्यहाँबाट जंगलमा लगेर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । यधपी ती दुई युवक को हुन भन्ने खुलेको छैन । प्रहरीले सिसिटीभी फुटेजसहित विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरेको छ ।
घरपरिवारले उनी ससुराली पुगेको ठानेका थिए। तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले फोन गरेर शवको पहिचान गर्न बोलाएपछि मात्रै उनको हत्या भएको थाहा भयो।
‘शुक्रबार दिउँसो २ बजेतिर प्रहरीले फोन ग¥यो। पुगेर हेर्दा दाजुको शव थियो। खुकुरीले काटिएको थियो, मुखमा पेट्रोल खन्याएर आगो लगाइएको थियो। यो विभत्स हत्या हो,’ भाइ रामले भने।
भाइ रामका अनुसार शिवशंकर बिहीबार ससुराली जानै चाहँदैनथे। केही दिनअघि त्यहाँ पारिवारिक विवाद हुँदा उनलाई कुटपिट गरिएको थियो। त्यसैले उनी जान अनिच्छुक थिए। तर, श्रीमती सृजनाले “हजुरबुबा बित्नुभएको छ“ भन्दै उनलाई जबरजस्ती लिएर गएको आरोप छ।
‘श्रीमान् बेपत्ता भएको खबर दिनु त प¥यो। तर, भाउजूले केही भनिनन्। उल्टै एक दिनपछि लास भेटिएपछि मात्र थाहा पाइयो। प्रहरीले गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गरोस्,’ भाइ रामले माग गरे।
चार वर्षअघि सामाजिक परम्पराअनुसार शिवशंकर र सृजनाको विवाह भएको थियो। विवाहपछि दुवैबीच पटक–पटक विवाद हुने गरेको परिवारको भनाइ छ ।