TodayPati

ओछ्यानबाट उठ्न नसक्ने मुकेशलाई सिडिओ कडरियाले घरमै पुगेर दिए नागरिकता

टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाले पूर्ण अपांगता भएका मुकेश कुमार महतोलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका राजकुमार महतोका २३ वर्षीय छोरा मुकेशलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले घरमै पुगेर नागरिकता हस्तान्तरण गरेका हुन् ।

११ वर्षको उमेरमै पोलियोको संक्रमणले पूर्ण अपांग भएका मुकेश आफैं उठबस गर्न असमर्थ छन् । क्षिरेश्वरनाथ नगरपालिका–८ का वडाध्यक्ष मोदकुमार महतो (मोदी) को पहलमा मुकेशलाई घरमै नागरिकता प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कडरियाले अपांग व्यक्तिहरूका समस्याप्रति प्रशासन संवेदनशील रहेको बताए । ‘मेरो परिवारमै पनि अपांग सदस्यहरू थिए । त्यसैले उनीहरूको पीडा राम्ररी बुझ्छु । मुकेशको अवस्थाबारे जानकारी पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर घरमै नागरिकता दिन आएको हुँ’, उनले भने ।

नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालयका अधिकृत निरज श्रीवास्तव, नायब सुब्बा रामकृपाल महतो, सुनिलकुमार झासहितको टोली मुकेशको घर पुगेको थियो ।

छोराले घरमै नागरिकता पाएपछि मुकेशका परिवारजनले प्रशासन कार्यालयप्रति आभार व्यक्त गरेका छन्। अब उनले अपांग भत्ता पाउने भएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *