ट्रकले किचिएर दिदीको मृत्यु, बहिनी घाइते
टुडेपाटी-
जनकपुरधाम, चैत २९ गते ।
बाँके सङ्ग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा ट्रकले किचेर दिदीको मृत्यु भएको र बहिनी घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१३, श्रीनगरकी १७ वर्षीया अन्जलीकुमारी महतो छन् । उनकी बहिनी बहिनी १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन् ।
श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्बरको ट्रकले किच्दा साइकल चलाएर गइरहेकी अञ्जलीको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । साइकलमा पछाडि सवार उनकी बहिनी पूजा घाइते भएकी हुन् ।
मृतक अन्जलीकुमारी महतोको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिएका छन् ।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको छ । स्थानीयका अनुसार रामदुलार महतोको हरिपूर्वा र श्रीनगर दुवै ठाउँमा घर रहेको छ । दुर्घटना भएको घर हरिपूर्वामा रहेको र त्यसबाट श्रीनगरतर्फ आउँदै गर्दा रामदुलारका दुई छोरी दुर्घटनामा परेका हुन् ।