TodayPati

जनकपुरमा पाइलै पिच्छे अवैध अस्पताल, हुँदैन नियमन र कारबाही

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, असोज २९ गते ।

मधेश प्रदेशको राजधानी जनकपुरधामको निजी अस्पताल क्षेत्रमा चरम वेतिथि देखिएको छ । उपचारमा चरम लापरबाही, बिरामीको मृत्यु, मनोमानी शुल्क असुल्ने र लापरबाही घटना ढाकछोप गर्ने प्रवृति व्याप्त छ । जनकपुरमा ६० वटा बढी निजी अस्पताल छन् । तर,सरकारी निकायबाट नियमन र कारबाही नहुँदा वर्षौदेखि बिना स्वीकृति दर्जन बढी अस्पताल निर्वाद चलिरहेको तथ्य फेला परेको छ ।

उपमहानगरले हालै निजी अस्पतालसहित स्वास्थ्य संस्थाहरुको तथ्यांक संकलन गरेके छ । अस्पताल संचालकको भनाइ अनुसार कर्मचारीले संकलन गरेको तथ्यांकमा ८ वटा निजी अस्पतालले दर्ता नरहेको उल्लेख गराएका छन् । तर हामीले गरेको खोजबिनमा कतिपय अस्पतालले झुठो विवरण टिपाएका छन् भने कतिपय अस्पतालको विवरण नै संकलित तथ्यांकमा छैन । यस अनुसार दर्जन बढी अस्पताल विना दर्ता रहेको पाइएको छ ।

Sponsored

दर्ता बिनै संचालनमा रहेकामध्ये एक हो तराई राजधानी हस्पिटल । यो हस्पिटल जनकपुरको रामानन्दचोकको प्रवेशद्वारको सय मिटर दक्षिण पश्चिम छेउमा गत ४ वर्षदेखि संचालनमा छ । जनकपुरधाम वडा नं. ८ मा पर्ने यो हस्पिटलमा पटकपटक चरम लापरबाहीको घटना हुने गरेको विगत छ । बिरामीको मृत्यु हुँदा केही घटना हस्पिटलले मृतक परिवारलाई रकम दिएर ढाकछोप गरेको सार्वजनिक भइसकेको छ । यद्दपी यो हस्पिटललाई हालसम्म कुनै निकायबाट नत अनुगमन भएको छ, नत कारबाही । बोर्ड लगाएर यो हस्पिटल कानुन मिच्दै चलिरहँदा सरकारी निकाय मुकदर्शक बनेको छ ।

यस्तै रामानन्दचोकमै दर्ता बिनै चलिरहेको अर्को हस्पिटल हो, जनक मेमोरियल हस्पिटल प्रा.लि. । खानेपानी कार्यालयको उत्तरी छेउतर्फ रहेको यो हस्पिटल वर्षौदेखि संचालनमा छ । वडा नं. ९ मै रामानन्दचोक भन्दा केही भित्र दर्ता बिनै अरमान हस्पिटल प्रा.लि., सहयोग हस्पिटल प्रा.लि. पनि संचालनमा छ । सहयोयग हस्पिटल दुईवर्षदेखि संचालनमा छ । त्यस्तै वडा नं. ९ मै बाह्रविघा मैदानको पश्चिम तर्फ अमृत श्री हस्पिटल प्रा.लि. संचालनमा छ । त्यो पनि संचालनका लागि स्वीकृति नलिएको उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।अरमान र अमृत श्री हस्पिटलको स्वीकृतिको लागि केही महिना अघि निवेदन परेको छ । तर दर्ता भने नभएको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नविन कुमार मिश्रले बताउँछन् ।

यस्तै तथ्यांकमा दर्ता नरहेको उल्लेख हस्पिटलहरु छन्, जनकपुरधाम वडा नं. १३ मा माँ वौधी हस्पिटल प्रा.लि., वडा नं. ६ मा शुभ ओम हस्पिटल प्रा.लि., वडा नं. ८ मा लाइफ केयर अस्पताल । माँ वौधी हस्पिटल स्वीकृतिको लागि निवेदन दिएको स्वस्थ्य शाखा प्रमुख मिश्रले बताए ।
यी आठ हस्पिटल त भयो तथ्यांक संकलन कर्ता कर्मचारीलाई दर्ता नरहेको स्वीकार गरेरै उल्लेख गराएकाहरु ।

Sponsored

यसका अलावा दर्ता नरहेपनि ढाँट्दै दर्ता छ भनेर उल्लेख गराउने हस्पिटलहरु पनि छन् । ढाट्मे मध्येमा छन् जनकपुर न्यूरो हस्पिटल प्रा.लि. । दुई वर्षदेखि जनकपुरको मुरलीचोकको पूर्व तर्फ विशिष्टकृत हस्पिटल भनेर संचालनमा छ । तथ्यांक संकलनको क्रममा आफ्नो हस्पिटल संचालकले स्वास्थ्य मन्त्रालयमा दर्ता भएको उल्लेख गराएको छ । तर दर्ताका लागि स्वास्थ्य सेवा विभागमा निवेदन दिएपनि हालसम्म मापदण्ड पूरा नगर्दा अझै दर्ता भएको छैन । हामीले स्वास्थ्य सेवा विभागको अस्पताल अनुगमन तथा सुदृढीकरण शाखा प्रमुख नरेन्द्र खनालसित बुझ्दा अझैसम्म दर्ता नरहेको बताए । हस्पिटलले मापदण्ड पूरा गरेर स्वीकृति लिने आग्रह गरेकाले केहिदिन अझै प्रतिक्षा गर्ने उनको भनाइ छ । न्यूरो हस्पिटलमा संचालनकै बेलादेखि चरम लापरबाहीको कयौं घटना भएको सार्वजनिक भइसकेको छ । चरम लापरबाहीको घटनाहरुको खुलासा भएपछि स्वास्थ्य सेवा विभाग र मेडिकल काउन्सिल सहितले अनुगमन गरेको थियो । सो घटनाको प्रतिवेदन केहीदिन भित्रै सार्वजनिक गर्ने टोलिले बताएको थियो । तर हालसम्म प्रतिवेदन आएको छैन ।

यस्तै हस्पिटल छ सुरक्षा अस्पताल । यो अस्पतालका संचालकले स्वास्थ्य निर्देशनालयमा दर्ता रहेको उल्लेख गराएको छ । तर उसको दर्ता अभिलेख स्वास्थ्य निर्देशनालयको तथ्यांकमा देखिँदैन । नत स्वास्थ्य महाशाखा र जनकपुर उपमहानगरपालिकामा उसको दर्ता देखिन्छ । निर्देशनालयका निर्देशक डा. राजिव झाले तथ्यांकमा रहेको हस्पिटलको अभिलेलख मात्रै कार्यालयमा रहेके बताए । सुरक्षा अस्पतालमा पनि बेलाबेला लापरबाहीका घटना भइरहन्छ । गत साउन ६ गते नै पाठेघरको शल्यक्रियाको क्रममा जनकपुरधाम १६ कपलेश्वरकी सोनिया साहको मृत्यु भएको थियो । मृत्यु भएपछि अन्यत्र उपचार गराउन भन्दै अस्पताले शव एम्बुलेन्समा राखेपछि घटना खुलेको थियो । आर्थिक चलेखलमा घटना ढाकछोप गरिएको टुडेपाटीले खुलासा गरिसकेको छ ।


यस्तै जनकपुरको क्याम्पसचोकमा संचालित निर्मला देवी मेमोरियल हस्पिटल, जनकपुरधाम उपमहानगरपालिकामा दर्ता रहेको तथ्यांकमा उल्लेख छ । तर उपमहानगरले उपलब्ध गराएको हस्पिटल दर्ता तथा नविकरणको तथ्यांकमा यो देखिँदैन ।

तथ्यांक केलाएपछि अस्पताल संचालकले टिपाएको विवरण अनुसार थप कुराहरु खुल्ने स्वास्थ्य शाखा प्रमुख मिश्र बताउँछन् । ‘यो उनीहरुले भने अनुसार हाम्रो कर्मचारीले टिपेको विवरण हो । विवरण केलाएपछि कसले सही वा गलत भनेर ढाँटेछन् भन्ने खुल्छ’ उनले भने ।
संकलित तथ्यांकमा उपमहानगर भित्रै भएपनि केही अस्पतालको नाम समावेश छैन । ती अस्पतालहरु पनि दर्ताको लिस्टमा देखिँदैन । जस मध्ये जनकपुरको भ्रमरपुरा चोकमा वर्षदिन भन्दा बढी समयदेखि संचालनमा रहेको म्याक्स लाइफ हस्पिटल प्रा.लि. हो । यो अस्पताल दर्ताको लागि निवेदन दिएपनि हालसम्म प्रक्रियामै रहेको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नविन मिश्रले बताए ।

त्यस्तै तथ्यांकमा नरहेको दर्ता बिनाको हस्पिटल निलकण्ठ मल्टि स्पेशलिटी हस्पिटल एण्ड रिसर्च सेन्टर पनि हो । दर्ताकै प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख मिश्रको भनाइ छ ।

यस्तै तथ्यांक संकलनमा छुटेका भ्रमरपुराचोक स्थित मेड नेपाल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., मा गायत्री मेमोरियल हस्पिटल प्रा.लि. छन् ।
संघीयता अनउनु अघि जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य मन्त्रालयले अस्पताल संचालनको अनुमित प्रदान गर्ने गरेको थियो । त्यस यता पालिकाले १५ बेडसम्मको अनुमति दिन थालेको छ । मधेश प्रदेशमा प्रदेश स्वास्थ्य निर्देशनालयले २०७८ सम्म अनुमति दिएको थियो । त्यसपछि मधेश सरकारको तत्कालिन सामाजिक विकास मन्त्रालय एवं हालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वाथ्य महाशाखाले अनुमति तथा हस्पिटलको पुनः अनुमति दिइरहेको छ ।

पहुँच र पैसाको भरमा सरकार र स्थानीय प्रशासनलाई प्रभावित गरेर खुलेआम दर्ताबिनाको अस्पताल संचालन भइरहेको व्यापक नगुनासो छ ।

तीनै तहका सरकारबीच समन्वय नहुँदा अस्पताल क्षेत्र भद्रगोल

संघीयता आएपछि स्थानीय तह स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०७४ मा २५ बेडसम्मको जनरल अस्पताल स्थानीय पालिकामा दर्ता तथा नविकरण हुने उल्लेख छ । २५ बेड भन्दामाथि तथा विशिष्टिकृत अस्पताल दर्ताका लागि सम्बन्धित पालिकाको कार्यपालिकाको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट अनुमति लिनु पर्ने कानुनी प्रावधान छ ।

संघीयता आएपछि तीनै स्थानीय सरकारको ६ वर्ष पूरा भएको छ भने संघ र प्रदेश सरकार झण्डै ६ वर्ष पुरा हुँदै छ । तर यो ६ वर्षमा तीनै तहको सरकारसंग कति बेडको कति हस्पिटल जनकपुरधाममा छ, कति दर्ता, कहाँ दर्ता छ वा छैन भन्ने तथ्यांक अझैसम्म छैन । त्यसैले बेलाबेला चरम लापरबाहीका घटना वा निर्वाद विना स्वीकृति अस्पाल खुलेआम चलिरहँदा अहिलेसम्म कसैलाई कुनै कारबाही हुँदैन ।

भएकै निजी अस्पताललाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्न सकेको छैन । र मनोमानी स्वीकृति दिने क्रम जारी छ । यसको मूल कारण हो तीनै तहको सरकारबीच समन्वयको अभाव छ । र ती निकायहरुले स्वीकार्छन् पनि ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले समन्वयको अभाव रहेको स्वीकारे । उनले प्रदेश र केन्द्रसंग समन्वय गरेर अस्पतालहरुलाई कानुनी दायरमा ल्याउने प्रयासमा लागेको बताउँछन् । ‘समन्वयको अभाव छ । हामी प्रदेश र केन्द्रसंग पनि समन्वय गरेर अस्पतालहरुलाई व्यवस्थित गर्ने प्रयासमा छौं’ उनी भन्छन् । उनका अनुसार केहीदिन अघि उपमहानगरपालिकाको स्वास्थ्य शाखाले प्रदेशसंग समन्वय गरी जनकपुरको करिब १० वटा हस्पिटलमा अनुगमन गरेको थियो ।

समन्वयको अभावकै कारण निजी अस्पताल क्षेत्रमा बेतिथि देखिएको स्वीकारोक्ति मधेश प्रदेशको स्वास्थय महाशाखा निमित प्रमुख डा. ईन्द्रजीत रजकको छ । उनका अनुसार केहिदिन अघि स्वास्य निर्देशनालयका निर्देशक डा.राजिव झाको संयोकत्वमा अनुगमन समिति बनेको छ ।
मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री विरेन्द्र सिंहले केहीदिन अघि २५ बेडभन्दा माथिको अस्पताललाई मन्त्रालयले पत्र काटेर नै के कहाँ दर्ता छ वा छैन लगायतको जानकारी माग गर्दै पत्र पठाइएको बताए ।

पालिकाले वितरण गर्ने गरेको १५ वडेको हस्पिटलमा बढी लापरवाही र मनोमानी शुल्क लिने गरेको उनको तर्क छ । ‘पालिकाले स्वीकृति दिने १५ बेडके हस्पिटलमा नै उपचारमा बढी लापरबाही छ । औषधि उपकरण र चिकित्सकको अभाव छ । तर बढी शुल्क उसैले असुल्छ’ मन्त्री सिंह भन्छन् ‘हस्पिटल सुधारका लागि पालिकासंग समन्वयमा लागेका छौं । जनकपुरमा कति अस्पताल छन्, कहाँ दर्ता छ भन्ने विषयमा जनकपुरका मेयरसंग पनि छलफल गरेर अगाडि बढ्छौं ।’ जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले अनुमति दिने निकायहरु अनुगमनप्रति बढी जिम्मेबार हुनु पर्ने बताउँछन् ।

सम्बन्धित निकाय कमिसनमा मौन रहेको आशंका

तीनै तहका सरकार, सम्बन्धित निकायका उच्चपदस्थ कर्मचारी वर्षौदेखि खुलेआम दर्ता विनै संचालित अस्पतालबाट महिनावारी कमिसन लिने गरेको व्याप्त गुनासो छ । पटक पटक बिरामीको जीवनसंग खेलबाड हुँदा कुनै किसिमको कानुनी कारबाही नहुनुले पनि कमिसन लिने गरेको कुरालाई पुष्ट्याइ गरिरहेको छ । एकातिर बिरामीको जीवनसंग खेलबाड भइरहेको छ भने अर्को तर्फ सरकारको राजश्व छलि । तर पनि पाइलै पिच्छे निजी हस्पिटल दिनानुदिन विना दर्ता मापदण्ड खुल्नुले पनि सरकार र सम्बन्धित निकायको नियतमाथि ठूलो प्रश्न खडा गरेको छ । अस्पतालहरुको नियमन र कारबाही प्रक्रियामा गए आफूहरुको कमाई मर्ने तथा कमिसन उठाउने अस्पतालले पोल खोलिदिने डरले त्यसो नगरेको श्रोतको दावी छ ।

जनकपुरधाम उपमहानगरपालिकाले हालै संकलन गरेको तथ्यांक अनुसार दर्ता छैन उल्लेख
अमृत श्री हस्पिटल, जनकपुरधाम–९, दर्ता छैन
शुभ ओम हस्पिटल, जनकपुरधाम–६, दर्ता छैन
मा वौधी हस्पिटल, जनकपुरधाम–१३, दर्ता छैन
तराई राजधानी हस्पिटल, जनकपुरधाम–८, दर्ता छैन
अर्मान हस्पिटल, जनकपुरधाम–९, दर्ता छैन
जनक मेमोरियल हस्पिटल, जनकपुरधाम–९, दर्ता छैन
सहयोग हस्पिटल, जनकपुरधाम–९, दर्ता छैन
लाइफ केयर अस्पताल, जनकपुरधाम–८, दर्ता छैन

जनकपुरधाम उपमहानगरपालिकाले हालै संकलन गर्दा सञ्चालकले दर्ता उल्लेख गराएको तथ्यांक
निर्मला देवी मेमोरियल हस्पिटल, जनकपुरधाम–४, जउनपा
काव्य हस्पिटल, जनकपुरधाम–९, जउनपा
जनकपुर सिता हस्पिटल, जनकपुरधाम–९, जउनपा
जनकपुर मधेश हस्पिटल, जनकपुरधाम–८, जउनपा
पाइल्स एण्ड फिस्टुला केयर सेन्टर, जनकपुरधाम–८, जउनपा
निल कृष्ण हस्पिटल, जनकपुरधाम–८, जउनपा
जनकपुर ग्रण्डी अस्पताल, जनकपुरधाम–९, जउनपा
एस एण्ड पी अर्थोपेडिक हस्पिटल एण्ड किटिकल, जनकपुरधाम–६, जउनपा
मेहिलाल इन्टरनेश्नल हस्पिटल, जनकपुरधाम–९, जउनपा
नेपाल एपोलो हस्पिटल, जनकपुरधाम–९, जउनपा
जनकपुर गोल्डेन हस्पिटल, जनकपुरधाम–९, जउनपा
विनय तारा फाउण्डेशन क्यान्सर हस्पिटल, जनकपुरधाम–२, जउनपा
शंकर जनसेवा आयुर्वेद अस्पताल, जनकपुरधाम–७, जउनपा
स्वास्तिक हेल्थ केयर हस्पिटल, जनकपुरधाम–७, जउनपा
जनकपुर ट्रमा हस्पिटल, जनकपुरधाम–७, जउनपा
जनकनन्दनी हस्पिटल, जनकपुरधाम–८, जउनपा
जग्दीश रामरती हस्पिटल, जनकपुरधाम–२१, जउनपा

स्वास्थ्य मन्त्रालयमा दर्ता रहेको संकलित तथ्यांकमा सञ्चालकले उल्लेख गराएका अस्पतालहरु
जनकपुर न्यूरो हस्पिटल, जनकपुरधाम–४, स्वास्थ्य मन्त्रालय, काठमाडौं
जानकी हेल्थकेयर एण्ड टिचिंग हस्पिटल, जनकपुरधाम–८, स्वास्थ्य मन्त्रालय
वैदेही हस्पिटल, जनकपुरधाम–९, स्वास्थ्य मन्त्रालय
नवजिवन हस्पिटल, जनकपुरधाम–९, स्वास्थ्य मन्त्रालय
धनुषा अस्पताल, जनकपुरधाम–१, स्वास्थ्य मन्त्रालय
जनकपुर सिटी अस्पताल, जनकपुरधाम–१, स्वास्थ्य मन्त्रालय
मोहन मेमोरिय हस्पिटल, जनकपुरधाम–९, स्वास्थ्य मन्त्रालय

सामाजिक विकास मन्त्रालय, मधेश प्रदेशमा दर्ता रहेको भनि उल्लेख गराएका तथ्यांक
नैना हस्पिटल, जनकपुरधाम–८, सामाजिक विकास मन्त्रालय,
सेभ लाईफ हस्पिटल एण्ड रिसर्च सेन्ट, जनकपुरधाम–८, सामाजिक विकास मन्त्रालय
गोदावरी मोडर्न टिचिंग अस्पताल, जनकपुरधाम–८, सामाजिक विकास मन्त्रालय
कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, जनकपुरधाम–९, सामाजिक विकास मन्त्रालय
रामा मेमोरियल हस्पिटल, जनकपुरधाम–१४, सामाजिक विकास मन्त्रालय

जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता छ भनी सञ्चालकले उल्खेख गराएको तथ्यांक
बछार प्रसुति सेवा केन्द्र, जनकपुरधाम–२, जिल्ला जनस्वास्थ्य कार्यालय
जनकपुर बाल अस्पताल, जनकपुरधाम–७, जिल्ला स्वास्थ्य कार्यालय
आरपी मोडेल हस्पिटल, जनकपुरधाम–१६, जिल्ला जनस्वास्थ्य कार्यालय

स्वास्थ्य निर्देशनालय दर्ता तथ्यांकमा उल्लेख
जनकपुर श्री राम हस्पिटल, जनकपुरधाम–८, स्वास्थ्य निर्देशनालय
जनकपुर सुरक्षा अस्पताल, जनकपुरधाम–८, स्वास्थ्य निर्देशनालय
जनकपुर गोदावरी हस्पिटल, जनकपुरधाम–८, स्वास्थ्य निर्देशनालय
श्री आस्था हस्पिटल, जनकपुरधाम–६, स्वास्थ्य निर्देशनालय
केयर मेडिकल सेन्टर, जनकपुरधाम–९, स्वास्थ्य निर्देशनालय
चन्द्रकला हस्पिटल, जनकपुरधाम–७, स्वास्थ्य निर्देशनालय
जनकपुर मोडर्न हस्पिटल, जनकपुरधाम–७, स्वास्थ्य निर्देशनालय
संजिवनी हस्पिटल, जनकपुरधाम–७, स्वास्थ्य निर्देशनालय
अन्य
रामजानकी हस्पिटल, जनकपुरधाम–६, मध्यमाञ्चल क्षेत्रीय कार्यालय
श्री आर्या केयर एण्ड केयोर, जनकपुरधाम–६, मध्यमाञ्चल क्षेत्रीय कार्यालय
समर हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुरधाम–१४, कम्पनी राजिष्टारको कार्यालय
राधादेवी मेमोरियल एण्ड टिचिंग हस्पिटल, कम्पनी राजिष्टारको कार्यायल

तथ्यांक संकलनमा छुटेका अस्पतालहरु
म्याक्स हस्पिटल प्रा.लि., भ्रमरपुरा चौक
मेड नेपाल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., भ्रमरपुराचोक
मा गायत्री मेमोरियल हस्पिटल प्रा.लि.
निलकण्ठ मल्टि स्पेशलिटी हस्पिटल एण्ड रिसर्च सेन्टर

अस्पताल दर्ता तथा नविकरण रहेको जनकपुरधाम उपमहानगरपालिकाको तथ्यांक

मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखामा दर्ता तथा नविकरण रहेको अस्पतालहरुको तथ्यांक

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *