TodayPati

पिपरा उँपालिकाकी तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी–
महोत्तरी, साउन १२ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार विशेष अदालत काठमाडौँमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रंजिता झा, सव इन्जिनियर श्याम किशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

Sponsored

पिपरा १ खैरबामा बाटो ढलानको कार्य गर्दा कमसल सामाग्रीहरु प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरीको अनुसन्धान हुँदा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत झा, सवइन्जिनियर मण्डलले आव २०७४।०७५ मा पिपरा १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यमा नभए नगरेको कार्यलाई बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्‍कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी १ लाख ४८ हजार ९१० रुपैयाँ भुक्तानी दिई सरकारी रकम हानिनोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ग) र (ङ) बमोजिमको कसुरमा १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन र सोही दफा बमोजिम बिगो असुल हुनसमेत मागदाबी गरेको छ ।

यस्तै, निर्माण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले आव २०७४।७५ मा पीसीसी ढलान कार्यमा बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्‍कन गराई गलत नापी किताब, बिल भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गराई नभए नगरेको काममा बढी भुक्तानी लिई सरकारी रकम हानिनोक्सानी पुर्‍याएको पुष्टि भएकोले भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही दफा बमोजिम बिगो जफत हुनसमेत मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता दाहालले जानकारी दिएका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *