जनकपुर सुरक्षा अस्पतालमा महिलाको मृत्यु प्रकरण : लासमाथि पैसा बार्गेनिङ् गरेर मिलापत्र
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, साउन १२ गते ।
जनकपुरधामको रामानन्दचोक स्थित सुरक्षा अस्पतालमा उपचारका लागि आएकी महिलाको मृत्यु भएको घटना पैसा लेनदेन गरी मिलाइएको खुलेको छ । पाठेघरको शल्यक्रियाको लागि गत साउन ३ गते अस्पताल भर्ना भएकी जनकपुरधाम–१६ कपिलेश्वरकी ३६ वर्षीया सोनिया साहको दुईदिनपछि मृत्यु भएको थियो ।
वडा न. १६ का वडाध्यक्ष रामचन्द्र पंजियारको समन्वयमा मृतक परिवार र अस्पतालबीच रकम लेनदेन गरी मिल्ने निर्णय भएको छ । अस्पतालविरुद्ध मुद्दा मामिला गर्नेतर्फ नगई मिल्ने निर्णय भएको वडाध्यक्ष पजिरायले बताए । ‘घटनापछि मृतकको घर छेउकै महादेव मन्दिरमा गाउँ समाजको भेला बसेको थियो । त्यहाँ आपसमै मिल्ने कुरा भयो । विवादमा अगाडी नबढौं । गरिब मान्छे छन् । कहाँ मुद्दा बोकेर हिँड्ने काम गर्छन् भनेर,’ उनले भने ।
मृतकका पारिवारिक श्रोतका अनुसार घटनामा अस्पतालले मृतक परिवारलाई क्षतिपुर्ति वापत ११ लाख रुपैयाँ नगद दिने सहमति भएको छ । ११ लाख रुपैयाँको चेक वडाध्यक्ष पजियारको नाममा अस्पतालले दिएको ती श्रोतले बताए । श्रोतका अनुसार परिवारजनले सुरुमा २५ लाख रुपैयाँ माग गरेका थिए । त्यसपछि ११ लाखमा सहमति भएको हो ।
घटनापछि पाँच घण्टा गेटमा शव राखेर चिकित्सक र अस्पताललाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने मृतक परिवार जाहेरी दिन प्रहरी कार्यालय पुगेको छैन ।
घटनाको भोलिपल्ट जाहेरी दिने कुरा भएपनि हालसम्म मृतक परिवार नआएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । आपसमा रकम लेनदेन गरी मिलेको कारण मृतक परिवार जाहेरी दिन नआएको हुन सक्ने प्रहरीको अनुमान छ ।
Sponsored
उपचारमा चरम लापरबाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाही गर्ने ग्यारेन्टी नभएसम्म मृतक परिवारले शव नउठाउने अडानमा थिए । निष्पक्ष अनुसन्धान गरी कारबाही गर्ने स्थानीय प्रशासनको मौखिक आश्वासनपछि तत्काल अस्पतालमा तालाबन्दी गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको थियो । घटना भएको भोलिपल्ट दुबै पक्षबीच जिल्ला प्रहरी कार्यालयमै दुई÷तीनपटक छलफल भयो । छलफलपछि मृतक परिवारले शव बुझेका थिए ।
आन्दोलन चर्काउँदै कारबाहीको माग गरिरहेका पीडित परिवार जाहेरी किन नदिएको बुझ्न हामी बिहीबार दिउँसो उनको घरमै पुग्यौँ । हामी पुग्नसाथ मृतकको नातामा भाउजु पर्ने बताउने महिलाले सोधिहाली–‘पैसा लिएर अउनु भएको हो ?’ रहस्य खुल्ने डरले अर्का सदस्यले उनलाई बोल्नै रोक लगाए । मृतकका आफन्त रमेश साहले यो घटना के कसो गर्ने जिम्मा वडाध्यक्ष पजियारलाई नै दिएको बताउँदै थप केही बोल्न मानेन् ।
उनका एक छिमेकीले घटना मिलिसकेको बताए । ‘मुद्दा मामिलामा गएर के हुन्छ ? घटना मिलिसक्यो’ उनले भने । स्थानीयका अनुसार मृतकक सोनिया निःसन्तान थिइन् । त्यस कारण उनका पति गणेश साहले चारवर्ष अघि दोश्रो विहे गरेका छन् । दोश्रो पक्षमा दुई छोराछोरी छन् ।
त्यस कारण लाखौं रकम लिएर उपचारमा चरम लापरबाही भएको घटना ढाकछोप गर्न खोजिएको उनका ती छिमेकको दावी छ । ‘सोनियाको मृत्युले गणेशको परिवारकै बोझ हल्का भयो । झन् लाखौं रुपैयाँ पाउने भए’, नाम उल्लेख नगर्ने सर्तमा अर्का छिमेकीले भने ‘नत्र साँच्चिकै श्रीमतीप्रति सोनियाप्रति मायाममता भएको भए उनको न्यायको लागि परिवारजन अघि बढ्थे । लासमाथि बार्गेनिंग गर्ने थिएनन् । घटना नाटकीय शैलीमा भएको हुन सक्छ । दुबै तर्फ छानविन भए यथार्थ कुरा खुल्छ ।’
कसरी भयो सोनियाको मृत्यु
विवाहको डेढ दशक हुँदा पनि गणेश साहकी जेठी श्रीमती सोनिया निःसन्तान थिइन् । पछिल्लो समय उनको पाठेघरमा घाउ भएको थियो । अप्रेशन गराए पाठे घरको घाउँ निकोसंगै सन्तान हुन सक्छ भन्ने आश्वासन चिकित्सकबाट पाइन् । जेठ ३ गते उनी अस्पताल भर्ना भइन् । परिवारजनका अनुसार भर्ना भएकै दिन आवश्यक चेकजाँच नै नगरी अस्पतालले शल्यक्रिया थाले । तर भित्रको घाउको अवस्था हेर्दा चिकित्सहरुको हिम्मत काम नगरेको आफन्त नगिना साहको भनाइ छ । उनका अनुसार तुरन्तै अस्पतालमा डाक्टरले चिरेको पेट सिइदियो । ‘बचदानीमा घाउ थियो । डाक्रले भिडियो एक्सरे र जाँच बिनै अपरेशन गरिदिए । पेट चिरेपछि डाक्टरको हिम्मत काम गरेन । केही नगरी तुरन्तै फेरि सिइदियो । मैले भनेको पनि थिएँ यहाँ उपचार हुँदैन भने बाहिर अर्को हस्पिटलमा लग्छु । तर डाक्टरले ठीक भइहाल्छ भनेर रोक्यो’ मृतककी भाउजू पर्ने नगिना साहले भनेकी थिइन् ।
शल्यक्रिया गर्न खोजेको २ दिनपछि जेठ ५ गते दिउँसो २ बजेतिर सोनिया शौचालयमा बेहोस भएकी थिइन् । ‘मैले समातेर शौचाल लगेको थिएँ । त्यही बेहोस हुनुभयो । उठाएर बेडमा लग्यौं । अनि हिचकी आउन थाल्यो । डाक्टर नर्सले छाती थिच्न थाले । हामीलाई केही जवाफ दिएनन्’ नगिनाले भनिन् ।
केही बेरमै डाक्टरहरु आफै बिरामीलाई बोकेर बाहिर एम्बुलेन्समा रोखका थिए । थप उपचारको लागि बिराटनगर लग्दै छौ भनेर आफन्तजनलाई केही नभनि लान खोजेपछि आफन्तजनले रोकेका थिए । ‘हामीलाई नसोधी डाक्टर नर्सहरुले आफैं एम्बुलेन्समा राखेर उपचारको लागि बाहिर लग्दै छौं भन्यो । हामीले मान्छे बोलाएर रोकायौं । हेरेपछि दिदीको मृत्यु भइसकेको थियो,’भाइ उदयले सुनाएका थिए ।
त्यसपछि शव अस्पतालको मूलगेटमा राखेर आफन्तजनले पाँच घण्टा लगातार प्रदर्शन गरेका थिए ।
उपचारमा लापरबाही भएको छैन : संचालक ठाकुर
अस्पताल संचालक डा. सरोज ठाकुरले उपचारमा कुनै प्रकारको लापरबाही नभएको दावी गरे । ‘पूर्व चेकजाँच गरेर नै शल्यक्रिया गरेका थियौं । तर अप्रेशन थालेपछि भित्र आन्द्रामा पाठेघर टाँसिएको मासु बढेको थियो । पाठेघरमा बढेको मासु हटाउन खोजे आन्द्रा च्यातिन सक्छ । पुरै पाठेघर नै हटाउनु पर्ने अवस्था थियो । तर बिरामीबाट पाठेघर हटाउने पूर्व स्वीकृति लिएका थिएनौं’ डा. ठाकुरले भने ‘यो विषयमा अप्रेशन थिएटरमा एकजना आफन्तलाई बोलाएर देखायौं । सम्झाएर पुनः तुरन्तै टाँका लगायौं’
डा. ठाकुरले आफूले दुईदिनसम्म बिरामीको अवस्था ठिकै रहेको र पछि कसैले अप्रेशन सफल नभएको सुनाएपछि हृदयघात भएको हुन सक्ने बताए । तुरन्तै आफन्तलाई भनेर गंगालाल हृदय केन्द्र जनकपुरमा पुर्याउन खोज्दा मान्छेको हुलले घेरेर हुलदंगा गरेपछि आफूहरु सुरक्षित त्यहाँबाट निस्केको उनको तर्क छ ।
डा. ठाकुरका अनुसार गणेशकी कान्छी श्रीमतीलाई पनि सन्तान नहुने समस्या थियो । ‘उहाँको कान्छी श्रीमतीलाई पनि समस्या थियो । मैले नै उपचार गरेपछि सन्तान भएको छ । जेठी श्रीमती सोनियालाई काठमाडौं कहाँ कहाँ उपचार गराउनु भयो । तर कान्छीको उपचार सफल भएकोले अन्तमा मकहाँ आउनु भएको थियो ।’
घटना पश्चात अस्पताललाई स्पष्टीकरण
घटना पश्चात मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले अस्पतालसंग स्पष्टीकरणसहित दर्ता नविकरणसहितको कागजातसहित २४ घण्टा भित्र उपस्थित हुन स्पष्टीकरण सोधेको थियो । जसमा अस्पताल उपस्थित भएर दर्ता कागजातसहित स्पष्टीकरण दिएको छ ।
स्वास्थ्य महाशाखाका प्रमुख डा. मुक्तिनारायण साहका अनुसार यो हस्पिटल प्रदेश स्वास्थ्य निर्देशनालयबाट २०७८ मा २५ शैय्याको दर्ता छ । तर हालसम्म नविकरण भने भएको छैन । यसका संचालक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सरोजकुमार ठाकुर छन् ।
घटनाको स्पष्टीकरणमा अस्पतालले पाठेघरको अप्रेशन गर्न खोजेपनि असफल भएको उल्लेख गरेको छ । हृदयघातले बिरामीको मृत्यु भएको, शल्यक्रिया गर्नु अघि गरेको बिरामीको चेकजाँचको रिपोर्ट अस्पतालमा होहल्ला कसैले लिएर भागेको स्पष्टीकरण पत्रमा उल्लेख गरेको महाशाखा प्रमुख साहले बताए ।
पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको थप कुरा खुल्ने र यस विषयमा अनुसन्धान गरिरहेको प्रमुख साहको भनाइ छ ।
परिवारजनले भने बिनाचेकजाँच शल्यक्रिया भएको दावी गरेका छन् । चेकजाँच बिनै शल्यक्रिया गरिएको भए अस्पताल चरम लापरबाही गरेको एक चिकित्सकले बताउँछन् । ‘कथनकदचित शल्यक्रिया असफल हुन सक्छ । तर यदि चेकजाँच बिनै शल्यक्रिया भएको छ भने त्यो गम्भीर लापरबाही हो’ ती विशेषज्ञ भन्छन् ।
धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले परिवारजन अस्पतालमाथि जाहेरी दर्ता नगरे कारबाही प्रक्रिया अघि बढाउन कठिन हुने बताउँछन् । यद्दपी पोस्टमार्टम रिपोर्ट मेडिकल काउन्सिललाई उपलब्ध गराउने र उपचारमा लापरबाही भए उसैले कारबाही गेर्न उनको भनाइ छ ।