सिरहामा जग्गाको सीमा बिबादमा एकजनाको हत्या
टुडेपाटी
जनकपुरधाम, जेठ ३ गते ।
जग्गाको सीमा बिबादमा सिरहामा एकजनाको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको आज बिहान हत्या भएको हो ।
उनी आज बिहान खेतमा टयाक्टरसहित भरभलादमी लिएर पुगेको बेला स्थानीय बचाई महतोले कोदालो प्रहार गरी हत्या गरेका हुन् । बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
घटना लगतै कोदालो प्रहार गर्ने भनिएका बचाई फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको सीमा विषयमा बिबाद थियो । बुधराम आज बिहानै केही भरभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए । त्यही क्रममा बचाइ पुगेपछि बिबाद भएको थियो । सोही क्रममा बचाइले बुधराममाथि कोदालो प्रहार गरेपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।
प्रहरी शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पुर्याएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।