समाजप्रति जिम्मेवारी बोध कहिले ?
रञ्जन भण्डारी (पत्रकार)–
समाज परिवारहरु मिलेर बनेको एक समुह हो । कुनैपनि समाजमा फरक फरक सोँच, धर्म, जात र सम्प्रदायका परिवारहरु हुन सक्छन । तर सबै एउटै समाजमा बस्दै गर्दा उनीहरुमा केही समानता हुन्छ । ती समानताले नै समाजलाई एउटा अदृष्य धागोमा बाँधेर राखेको हुन्छ । तर समाज भएपछि त्यसमा सबै एउटै धारका हुन्छन् भन्ने छैनन । उनीहरु फरक फरक धारका हुन सक्छन् । फरक काम र जिम्मेवारीका हुन सक्छन् । एउटै समाजमा बस्ने कोहि चिकित्सक हुन सक्छन भने कोहि दैनिक ज्यालादारी गरेर खाने मजदुर वा कोहि नेता वा पत्रकार हुन सक्लान् । सबैको आफ्नै काम र त्यो काम प्रतिको जिम्मेवारी हुन्छ ।
यहि समाजको विकास हुदै गर्दा केहि सकारात्मक र केहि विकृत मानसिकताको पनि विकास भैरहेको हुन्छ । दुईथरीको मानसिकता विकास भएको व्यक्तिहरुको सोँच भने समान हुन सक्दैन । सकारात्मक सोच भएकाले समाजलाई सुन्दर,मर्यादित र सभ्य बनाएर राख्न कार्य गरिरहेको हुन्छ भने विकृत मानसिकता भएका व्यक्तिले अमर्यादित,कुरुप र असभ्य कार्यमा आफ्नो मगज खियाईरहेको हुन्छ । यस्को केही प्रत्यक्ष उदाहरणहरु छन् ।
जिल्ला प्रसासन कार्यालयले समाजलाई एउटा नियममा बाँधेर राख्न र गलत तत्वलाई हावी हुन नदिन सर्वदलिय र सुरक्षा निकाय समेतको बैठक बसी केहि महिना पुर्व तथा केहि वर्ष पहिलेदेखि बारम्बार आर्केस्ट्रा नचाउन नपाउने, राती तोकिएको समय पछि मदिरा पसल खोल्न नपाइने र अन्य साँगितिक कार्यक्रम वा कुनै कार्यक्रम भएपनि राति तोकिएको समय पछि सो संचालन गर्न नपाउने, तोकिएको समयपछि कुनै पनि समारोह वा विवाहमा चर्को स्वरमा बाजा बजाउन नपाउने लगायतका विभिन्न नियम सहितको सूचना जारी गर्दै आएको छ । कतिपय स्थानबाट यस्ता नियम उलंघन गर्नेहरुलाई सो कार्यबाट रोकिएको समेत छ ।
तर जलेश्वरकै लागि जिल्ला प्रसासन कार्यालयको सोही नियम र सूचना भने फितलो देखियो । यहाँ शक्ति र पहुँचको आधारमा जिल्ला प्रसासन कार्यालय आफै कमजोर परेको अनुभुति सर्वसाधारणले गरेका छन् । जिल्लाका अन्य स्थानको लागि प्रसासन कडा देखिएपनि सदरमुकाममै आफ्नै नियम र सूचनाबाट पन्छिएको देखिएको छ । स्थानीय र प्रदेश सरकार एउटै पार्टीको हुदा यहा असिमित शक्ति चर्चेको हुन्छ र सोहि शक्तिको अगाडी प्रसासन नतमष्तक भएको आम बुझाई छ । तथापी यो फरक पाटो हो । हामीले चर्चा गर्न खोजेको विषय धार्मिक कार्यक्रमको नाममा दोहोरो अर्थको गित र नाच हुदा प्रसासन र स्थानिय सरकार किन मुकदर्शक भन्ने विषयमा हो ।
कुनै पनि धार्मिक अनुष्ठानमा सो बाहेकका कार्यक्रम गर्नु सो अनुष्ठानप्रतिको अपमान भएपनि पछिल्लो केहि वर्ष देखि विश्वकर्मा पुजा,सरस्वती पुजा,दुर्गापुजा लगायतका विभिन्न धार्मिक कार्यक्रममा आर्केस्ट्रा नचाउने परम्परा नै विकास हुन लाग्दा यहा प्रसासनबाट सोहि उपर अपेक्षाकृत कार्यवाही हुन सकेको छैन । गत वर्ष सदरमुकाम बाहेकको क्षेत्र रहेको गौशालामा यस्तै कार्यक्रम गर्न खोज्दा प्रहरीले आफ्नो सकृयतामा कार्यक्रम नै रोक्न लगाएको थियो । त्यहाँ प्रसासनले आफ्नो अस्तित्व जोगाएको थियो तर सो पछि प्रसासनको पहल व्यक्ति र शक्ति हेरी हुन थाल्दा यसले विकृति बढाउदै गयो ।
Sponsored
यहाँ प्रसासनको निर्देशनलाई पालना गराउने जिम्मेवारी प्रहरीको समेत भएकोमा प्रहरी पछिल्लो समय जिम्मेवारी पुरा गर्न असमर्थ हुँदै गएको देखिन्छ । पछिल्लो समय भएको विभिन्न धार्मिक कार्यक्रममा धार्मिक कार्यक्रमको नाम मै संचालन गरिएको कतिऔ आर्केष्ट्रामा प्रहरी मुकदर्शक मात्र बनेको देखिएको छ ।
थोरै चर्चा जनप्रतिनिधिको :
कोही नेता नोटले जितेका होलान्, कोही भोटले जितेका होलान्, कोही आफ्नो असल कामले जितेको होलान भने कोहि धाकधम्की र शक्ति प्रयोग गरेर जित हात पारेका होलान् । तर जुन सुकै अवस्थामा जितेको भएपनि जितेर आउनेको काम र जिम्मेवारी भने एउटै हुन्छ । सोहि काम र जिम्मेवारी उनले पुरा गर्ने तरिका र उनको आफ्नो काम र जिम्मेवारी प्रतिको गम्भीरता तथा गराइले उनको मुल्यांकन गर्छ ।
जनप्रतिनिधीको काम, कर्तव्य र जिम्मेवारी भित्र विकासका साथै समाजलाई सभ्य, मर्यादित र सम्मानित बनाएर राख्नु पर्ने समेत हुन्छ । यो मेरो बुझाई हो । तर तिनै जनप्रतिनिधिले समाजलाई झनै विकृत बनाउने कार्यमा संलग्नता देखाए उनी आफ्नै जिम्मेवारी नबुझेको र उनलाई सो बुझाउनु पर्ने हुन्छ । एउटा पत्रकारको दायित्व समेत हो यो । पत्रकारको दायित्व प्रसासन, प्रहरी र जनप्रतिनिधि तिनैलाई उनको जिम्मेवारी बोध गराउनु छ ।
कुनै एक अति विशिष्ट धार्मिक कार्यक्रममा जनप्रतिनिधिकै निर्देशनमा र सकृयतामा धार्मिक बाहेकको कार्यक्रम आयोजना गरिए सोही धार्मिक कार्यक्रम (अनुष्ठान) को मूल मर्ममाथि प्रहार हुन जाने भएकोले धार्मिक कार्यक्रमलाई विशुद्ध धार्मिक कार्यक्रमकै रुपमा मनाउनु पर्ने हुन्छ । अन्य सभा र समारोहको आयोजना गरि मन लागेको कार्यक्रम विधि, नियम र कानुनको पालना गरि संचालन गर्न कुनै रोकटोक नरहेको बेला धार्मिक कार्यक्रमको आडमा आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नु तथा आफ्नो शक्ति र पहुच देखाउनु मुर्खता वाहेक केहि होईन ।
यहाँ एउटा कार्यक्रममा अर्को मिश्रण गरिरहँदा त्यसले समाजमा सकारात्मक भन्दा पनि नकारात्मक उर्जा प्रवाह गरिरहेको हुन्छ । पूजाको मूूलभाव नै पूजा रहेकोले त्यसमा अन्य थोक मिश्रण गर्नु गलतलाई सहि बनाउन खोज्नु हो । यहाँ जनप्रतिनिधिको काम र जिम्मेवारी यस्तो कार्यलाई रोक्नु हुनुपर्नेमा यस्ता कार्यलाई बढावा दिएको देखिन्छ । जुन गलत हो । यदि कुनै जनप्रतिनिधिले यस्तो गरेका छन् भने उनले यसबाट उन्मुक्ति पाउनुको एउटै मार्ग सार्वजनिक माफी माग्नु हो ।
तर यहाँ अवस्था भने फरक देखिएको छ । जनप्रतिनिधीले गरेको यस्ता गलत कार्य बारे बोल्नेको मुख थुन्ने प्रयास ती जनप्रतिनिधिहरुबाट पछिल्लो समय हुँदै गएको छ । कुनै बहानामा जिम्मेवारी बोध गराउनेलाई बदनाम गर्न खोज्ने, हमला गर्ने आफ्नो आसेपासेलाई संचालन गरि स्वर दबाउन खोज्ने चलन नै चलेको छ । ती आसेपासे समेत शक्ति र पैसाको लालचमा गलतकै समेत गुणगान गरेको छ्याप्छ्याप्ती भेट्ने गरेका छन् ।
कुनै धार्मिक अनुष्ठानमा लाखौ करोडौं खर्च गरेर त्यसलाई सुन्दर र भव्य बनाइएपनि यस्ता केहि गलत कार्यले त्यो सबै गर्न लागेको खर्च तथा मेहनत व्यर्थ हुन जान्छ । ती जनप्रतिनिधी वा जिम्मेवार अन्य समिति वा व्यक्ति समेत थोरै यस्ता प्रकारका गलतका कारण नाम भन्दा पनि बदनाम हुन्छन् । लामो समयको परिश्रम र साँचो निष्ठालाई समेत यसले धुमिल पार्ने गर्छ ।
कुनै पत्रकारले सयौं वा हजारौ सहि समाचार लेखेपनि कुनै एउटा समाचारमा उसबाट सानो गल्ती हुदा समेत उसले लेखेका ती सबै समाचारको प्रभाव क्षिण भएझै कुनै जनप्रतिनिधि, प्रशासनिक कर्मचारी (ओहदाका समेत) र सुरक्षा निकायबाट भएको सानो गल्तीले उनीहरुमाथिको विश्वसनीयता, निष्ठा र जिम्मेवारीप्रतिको वफादारितामाथि प्रश्न खडा गर्नु स्वभाविकै हो ।