बटेश्वर गाउँपालिकाद्वारा एक वर्षमा इन्टरनेटमै झण्डै १३ लाख खर्च, असारमै साढे ७ लाखभन्दा बढी
टुडेपाटी–
जनकपुरधाम, जेठ १९ गते ।
धनुषाको वटेश्वर गाउँपालिकाले एक वर्षमै इन्टरनेट लिएको वापत झण्डै १३ लाख रकम खर्च गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा पालिकाले सञ्चार वापतको खर्चका लागि १७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेकोमा १२ लाख ८९ हजार ३२७ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
पालिकाले २०७८ साल असोज १९ गते सुविसु केवलनेट प्रा.लि.लाई ६२ हजार ३४६, असोज २० गते क्षिरेश्वर नेटवर्क प्रा.लि. लाई ३० हजार ५८, कार्तिक ११ गते जेके ट्रेडर्सलाई १२ हजार ५०५, पुस ६ गते पुनः सुविसु केवलनेट प्रा.लि लाई १८ हजार ५९४, पुस १६ गते जेके ट्रेडर्सलाई १२ हजार ५ सय र २० गते १२ हजार ५ सय, पुस २८ गते सुविसु केवलनेट प्रा.लि.लाई पुनः १३ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै, बैशाख ३० मा भएको निर्वाचन पश्चात आएको नयाँ जनप्रतिनिधिले २०७९ साल असार २४ गते वेभ सर्फर नेपाल कम्यूनिकेशनलाई ५ लाख ७६ हजार, असार ५ गते इ वे एम्बिसन स्टोर्सलाई ९८ हजार ८ सय ७५ र सोही दिन इ वे एम्बिसन स्टोर्सलाई नै ९९ हजार ४४० रुपैयाँ भुक्तानी गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखापरीक्षकको प्रतिवेदनले सञ्चार खर्च अन्तरगत पालिकाले भुक्तानी गर्नुपर्ने गरी जडान भएको इन्टरनेट सेवा प्रदायकको पहिचान नम्बर र स्थान खुल्ने गरी अभिलेख समेत नराखेको पाइएको जनाएको छ ।
यस्तै, आगामी वर्षको लागि समेत हुने गरी भुक्तानी गरेको तथा इन्टरनेट शुल्क भुक्तानी गरेका सेवा प्रदायकले प्रदान गरेको राउटरको पहिचान नम्बर सहितको अभिलेख बेगरको भुक्तानी दिने परिपाटिमा नियन्त्रण गर्नुपर्ने ओल्याएको छ ।
Sponsored