तलब नदिएपछि मिथिला विहारीका स्वास्थ्यकर्मी आन्दोलित
टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।
तलब भत्ताको मागसहित मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
धनुषाको मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मी आकस्मिकबाहेकको सबै सेवा बन्द गरी विगत ११ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले विगत ८ महिनादेखिको बाँकी तलब भत्ताको व्यवस्था गर्न,बाँकी रहेको पोशाक भत्ताको रकम उपलब्ध गराउन माग गर्दै धर्ना बसेका हुन् ।
नगर कार्यपालिकाको कार्यालय तारापट्टीको मूल गेटमा उनीहरु विभिन्न ६ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिए ।
उनले दिनरात नभनी स्वास्थ्यकर्मी खटिरहेकोमा आफुहरुको सेवा सुविधा ८ महिनादेखि नपाउँदा हातमुख चलाउन समस्या भइरहेको बताए ।
Sponsored
आर्थिक वर्ष २०८०।०८१ देखि नियमित रुपमा महिनाबारी तलबको व्यवस्था गर्न, हरेक स्वास्थ्य चौकीमा औषधिको सहज व्यवस्थापन गर्न, विगत तीन वर्षदेखि बाँकी रहेको नागरिक लगानी कोष र संचय कोषको रकम समयमै जम्मा गर्न उनीहरु माग अघि सारेका छन् ।
स्वास्थ्यकर्मी संघर्ष समितिका अध्यक्ष ओम प्रकाश यादवले मेयरदेखि हाकिमसम्मले यो वर्ष स्वास्थ्यकर्मीको लागि बजेट नै नआएको भन्दै पन्छिन खोजेको आरोप लगाए ।