बटेश्वर यूवा सञ्जालको आयोजनामा एकसाथ चार कार्यक्रम सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ गते ।
बटेश्वर यूवा संजालको आयोजनामा एकसाथ चारवटा कार्यक्रम सम्पन्न भएको छ । दिपावली तथा छठ पर्वको उपलक्ष्यमा धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ४ बटेश्वरबजारमा रक्तदान, रगतग्रुप जाँच, निःशुल्क स्वास्थ्य शिविर तथा पालिका स्तरीय प्रा.वि.तह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा ७ जना महिलासहित ४५ जनाले रक्तदान गरेका छन् । रेडक्रस सोइटी कार्यालय जनकपुरको प्राविधिक सहयोग तथा ब्लडफर नेपालको सहयोगमा क्तदान कार्यक्रम भएको हो । त्यस्तै १७५ जनाले रगत समूह परीक्षण गराएका छन् ।
स्वास्थ्य शिविरमा १५४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नशा तथा हाडजोडी विशेषज्ञ डा. रामविनय चौधरी, नाक कान घाँटी विषेशज्ञ डा. सुनिल सिंह, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जितेन्द्र सिंह र मेडिसिन फिजिसियन डा. श्यामबाबु साहले बिरामीहरुको स्वास्थ्यजाँच गरेका थिए । स्वास्थ्य शिविरमा स्थानीय स्वास्थ्यकर्मीहरुले सघाएका थिए ।
त्यस्तै बटेश्वर गाउँपालिका भित्रका १६ वटै विद्यालयको प्रा.वि.तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा शिव शक्ति मावि प्रथम भएको छ । यस्तै जनशक्ति मावि दोश्रो र देवकि नमूना प्रा.वि तेश्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमको संयोजन स्थानीय युवा सरोजकुमार महतोले गरेका थिए भने स्थानीय रामवरण महतो, जयकृष्ण महतो लगायत ३५ जना युवायुवतीको समूहले सहयोगी भूमिका निर्वाह गरेका थिए ।
Sponsored
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी, भद्रभलादमी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।