महोत्तरीको पररियामा लगाइएको कर्फ्यू हटाइयो
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ गते ।
महोत्तरीको भंगहा नगरपालिका ८ पररियामा हिन्दु र मुस्लिम समुदाबीच दंगा भड्किएपछि जारी गरिएको अनिश्चितकालिन १८ घण्टापछि रातिदेखि हटेको छ ।
स्थिति नियन्त्रणमा लिन बिहीबार अपराहन्न ४ बजेदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीले लगाइएको अनिश्चितकालिन कर्फ्यू आज (शुक्रबार) राति १० बजेदेखि हटाएको सूचना जारी गरेको हो ।
हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आएकोले राति १० बजेदेखि कर्फ्यू हटाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले सूचना जारी गर्दै जानकारी गराएका छन् ।
‘शान्ति सुरक्षा कायम गर्न सो क्षेत्रमा कार्तिक १० गते ४ बजेदेखि स्थानीय प्रशासनले ऐन. २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएकोमा हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आई सामान्यिकरण भएको देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को उपदफा ५ बमोजिम आज राति १० बजे देखि लागु हुने गरी कर्फ्यू हटाईएको व्यहोरा सर्वसाधारण सबैमा जानकारीको लागि सुचित गरिएको छ’ जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको सूचनामा उल्लेख छ ।
बिहीबार हिन्दु वाहिनी सेना सम्राटल संगठनले निकालेको कलश यात्राको क्रममा दुबै समुदायबीच झडप भएको थियो । झडपमा १३ जना प्रहरीसहित १७ जना घाइते भएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले ३० राउण्ड बढी हवाई फायर गरेको थियो । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको थियो ।
Sponsored
शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलले ८ बुँदे सहमति समेत गरेको छ । घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न गृहमन्त्रालयले गृह सचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।