TodayPati

प्रदेश २ : पति चढ्ने मोटरसाइकलको कर मिनाहा गरिदिन सांसदले यातायात कार्यालयलाई लेखिन् पत्र

टुडेपाटी-
जनकपुरधाम, असोज ११ ।

स्वकीय सचिव समेत रहेका पतिले प्रयोग गर्ने मोटरसाइकलको कर छुट गरिदिन प्रदेश २ का एक सांसदले यातायात कार्यालयलाई लेखेको पत्र सार्वजनिक भएको छ ।

प्रदेश २ की सांसद प्रमिला यादवले आफ्नो पति अशोक यादवले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालय लहानलाई पत्राचार गरेको पाईएको हो ।

Sponsored

यादव नेकपा माओवादी केन्द्रबाट समानुपतिक सांसद बनेकी हुन् । सप्तरी राजविराज नगरपालिका–२ की यादवले पति अशोक यादवलाई स्वकीय सचिवमा नियुक्त गरेकी हुन् ।

पति अशोकले प्रयोग गर्ने स. ३ प. ८८४८ नम्बर मोटरसाइकलको २०७८ सालसम्मको कर मिनाहा गरिदिन यातायात कार्यालय लहानका प्रमुखलाई सम्बोधन गरेर चिठ्ठी लेखेको थिइन् ।

निवेदन लिएर सासद यादवका स्वकीय सचिव समेत रहेका पति अशोक स्वयं यातायात कार्यालय लहान पुगेका थिए ।

Sponsored

तर यातायात कार्यालय लहानका प्रमुख मीन भट्टराईले कर छुट गर्ने आफ्नो अधिकार नरहेको बताएपछि अशोकले कर वापतको पैसा तिरेका थिए ।

प्रुमख भट्टराईले कर मिनाहाका लागि मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने भनेपछि सांसद यादवका पति अशोकले कर वापतको रकम तिरेको बुझिएको छ ।

सांसद यादवले मोटरसाइकलको कर मिनाहाका लागि लेखेको चिठ्ठी बारे आफूलाई कुनै जानकारी नभएको बताईन् ।

‘कर मिनाहाका लागि मैले कुनै प्रकारको चिठ्ठी लेखेको छैन’ सांसद यादवले भनिन् ‘कसैले आफ्नो लेटरप्याड दुरुपयोग गरेको हुनसक्छ ।’ उनले आफ्नो पतिले आवश्यक दस्तुर तिरेर मोटरसाइकल नवीकरण गराएको दाबी गरिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *