जनकपुरको राजदेवी मन्दिरमा यसवर्ष ८ हजार ८ सय ६६ बलि प्रदान, अन्य वर्षको तुलनामा कम
टुडेपाटी-
जनकपुरधाम, कात्तिक ९ गते ।
जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष करिब ९ हजार बोका बलि दिइएको छ । जिल्ला प्रशासनले बलि चढाउनमा रोक लगाएपनि अन्तिम चरणमा भएको सहमति अनुसार राजदेवी मन्दिरमा ८ हजार ८ सय ६६ वटा बोका बलि दिइएको हो ।
प्रशासनको सहमतिमा शनिबार साँझ ७ बजेदेखि हुँदै आएको बोका बलि राति साढे ११ बजेसम्म चलेको थियोे । मन्दिरमा बलिको लागि चारवटा ठेहाको व्यवस्था महावीर युवा कमिटीले गरेको थियोे । कमिटीका अनुसार प्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइएको छ ।
कोरोना महामारीका कारण केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बोका बलि नहुने भन्दै सूचना समेत जारी गरेकोमा पछि प्रशासनकै सहमतिमा बलि प्रथालाई निरन्तरता दिइएको महावीर युवा कमिटीले जनाएको छ । श्रद्धालुले कोरोना महामारीकाबीच प्रशासनले जिल्लाभर बलि नचढ्ने सूचना जारी गरेकोले यसवर्ष बोका बलि हुन्छ कि हुँदैन भन्ने अन्योलताका कारण शून्य समयमा आएर भएको बोका बलिले अन्य वर्षको तुलनामा यो वर्ष कमि आएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले बताए ।
कमिटीले टाउको वापतको रसिद विधिवत रुपमा नकाटेपनि टाउको वापत दुई सय रुपैयाँ तोकेको थियो ।
राजदेवी मन्दिरमा चढाइएको पछिल्लो तथ्यांकअनुसार २०६५ सालमा ११ हजार १३४, २०६६ सालमा ११ हजार ७ सय ९०, २०६७ सालमा १३ हजार ५ सय ५२, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०७० सालमा १४ हजार ८ सय ६१, २०७१ सालमा १४ हजार ७ सय २२, २०७२ सालमा १३ हजार ८ सय १, २०७३ सालमा १४ हजार ६ सय १७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७५ सालमा १४ हजार ९ सय ९७ वटा बोका बलिमा चढाइएको थियोे ।
Sponsored
त्यस्तै गत वर्ष १४ हजार ६ सय ३३ वटा बोका बलि प्रदान गरिएको थियो ।