बर्दिवास अस्पतालमा एक हजारबढी मानिसको पिसिआर परिक्षण
टुडेपाटी
बर्दिवास, कात्तिक ४ गते ।
महोत्तरीको बर्दिवास अस्पतालले एकहजारभन्दा बढीको पिसिआर जाँच गरेको छ । गतभदौ–१२ गते पिसिआर जाँच शुरु गरेको अस्पतालले असोज मसान्तसम्म एक हजार ४५ जनाको पिसिआर जाँच गरिएको जनाएको हो ।
अस्पतालले भदौ महिनाका २० दिनमा ३८६ जनाको पिसिआर परीक्षण गरेको छ । जसमा २५ महिला र २२ पुरुष गरी ४७ जनामा कोविड–१९ सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबु यादबले जानकारी दिनुभयो । त्यसैगरि गतअसोज महिनामा ६५९ जनाको पिसिआर परीक्षण भएको छ । जसमा ९२ पुरुष र ५२ महिलासहित १४४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
गतअसार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाको पहलकदमीमा गतभदौ–१२ गते पिसिआर परीक्षण शुरु गरिएको थियो । कोविड–१९ सङ्क्रमण समुदायस्तरमा फैलदै जाँदा परीक्षण ब्यापक बनाउने उदेश्यसाथ बर्दिवास नगरपालिकाले आवश्यक उपकरण र दक्ष जनशक्ति ब्यवस्थापन गरि स्थानीयस्तरमै पिसिआर परीक्षण शुरु गराएको हो ।
नगरपालिकाले करिब एककरोड २५ लाख खर्च गरेर पिसिआर मसिन, आवश्यक उपकरण अस्पतालमा जडान गराएको हो । यसको सञ्चालनका लागि दक्ष जनशक्तिको ब्यवस्थापन पनि नगरपालिकाले नै गरेको छ । सेवालाई बिस्तार गर्दै छिमेकका स्थानीयतहका बासिन्दाको समेत परीक्षण ब्यवस्था बिस्तार गर्न सम्बन्धित स्थानीयतह, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय भइरहेको नगरप्रमुख बिदुरकुमार कार्कीको भनाइ छ ।
Sponsored
अस्पतालले स्वाव सङ्कलन गरिएको १० घण्टा भित्र नै नतिजा (रिपोर्ट) दिदै आएको छ । यो ब्यवस्थाले यसअघि १०÷१२ दिनसम्म रिपोर्ट कुर्नु पर्ने अवस्था हटेको सेवाग्राहीले बताएका छन् ।
करिब एकलाख २० हजार जनसङ्ख्या रहेको आफ्नो नगरक्षेत्रमा स्वास्थ्य सेवामा आम मानिसको पहुँच बढाउँदै लाने सङ्कल्पमा यो प्रयत्न महत्वपूर्ण कडि बनेको नगरप्रमुख कार्कीको भनाइ छ ।
बर्दिवास अस्पतालमा जडान गरिएको पिसिआर मसिन र उपलब्ध उपकरणबाट दैनिक ९०० सम्म परीक्षण हुनसक्ने विज्ञको भनाइ छ । यहाँ जडित उपकरणबाट प्र्रत्येक दुई घण्टामा ९६ जनाको पिसिआर जाँच गर्ने क्षमताको मसिनलाई पालो मिलाएर जनशक्ति विन्यास गर्नसके दैनिक ९०० को जाँच हुने अस्पतालले स्पष्ट पारेको छ ।
नेपाल सरकारको पाँचकरोड ३५ लाख ३६ हजार १७६ को लागतमा नवनिर्मित बर्दिवास अस्पतालको अत्याधुनिक सेवासहितको तीनतले भवनमा ८६ कोठा छन् । अस्पतालमा कोविड–१९ रोकथाम अभियानसँगसम्बन्धित ५० शैयाको आइसोलेसनकक्ष छ । भौतिक साधन स्रोत जुट्दै गए बर्दिवास अस्पताललाई सेवाको क्षेत्रमा अनुकरणीय बनाउने आफ्नो सपना रहेको नगरप्रमुख कार्की बताउनुहुन्छ ।—