महोत्तरीमा एउटै टोलका १६ जनालाई सर्पले टोकेको भन्दै संत्रास फैलिएपछि….
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, साउन ३१ गते ।
महोत्तरीको भंगहा नगरपालिका ५ राजपुरटोलकी ४५ वर्षीया जैमुन खातुनलाई बिहीबार विषालु सर्पले टोक्यो । धानखेतमा जाँदै गरेको बेला विषालु सर्पले टोकेपछि उपचारको लागि सिरहाको बन्दीपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो ।
उनको शवलाई ईस्लाम धर्म परम्परा अनुसार सोहि टोल नजिक रहेको कव्रग्राहमा गाडियो । सो घटना सेलाउन नपाउँदै शुक्रबार साँझ सोही टोलमा १५।१६ जनालाई पालैपालो सर्पले डसेको भन्दै त्रास फैलियो ।
साँझ ५ बजेदेखि राति १० बजेसम्म अदृश्य सर्पले १५।१६ जनालाई टोक्यो भन्ने कुराको जानकारी टोलकै सकिला खातुनले भंगहाका नगरप्रमुख संजिव साहलाई दिइन् । नगरप्रमुख अचम्ममा पर्दै संचार माध्यमलाई जानकारी गारए । संचार माध्यममा समाचार सार्वजनिक हुँदा चारैतिर सनसनी फैलियो । एउटै टोलमा कसरी कुन सर्पले १६ जनलाई टोक्यो होला भन्ने कौतुहल्ता त्रासको विषय बन्यो ।
राति नै सर्पले टोकेको भन्दै बेहोस भएका ७ जना मुस्लिम समुदायको महिला र एकजना सरदार थरका पुरुषसहित ८ जनालाई बर्दिबास स्थित सर्पदशं उपचार केन्द्रमा भर्ना गरियो ।
अदृश्य सर्पले धेरैलाई टोकेको भन्दै आफुलाई पनि पटक पटक जानकारी आएको भंगहा नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवकुमार महतोले बताए ।
‘घटना सुन्दा म आफै आश्चर्यमा परे । कुरा बुझ्दै जाँदा आफुलाई सर्पले टोको भनेर बेहोस् भएका ८ जनालाई उपचारका लागि बर्दिबास स्थित सर्पदशं उपचार रकेन्द्रमा भर्ना गरिएको रहेछ’, वडाध्यक्ष महतोले टुडेपाटीसंग भने ‘शुक्रबार त्यहिकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएकाले सायद उनीहरुलाई डरले आफुहरुलाई सर्पले टोकेको हो भन्ने भ्रम भएको रहेछ । बिहान उपचारमा रहेकाहरुको अवस्था बुझ्दा सबैको अवस्था समान्य छ । कसैलाई विष लागेको छैन । त्यसैले उनीहरुलाई भ्रम नै भएको रहेछ ।’
Sponsored
यता बर्दिबास सर्पदंश उपचार केन्द्रले भर्ना भएका ८ जना उपचार पश्चात घर फर्केका जनाएको छ । सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले भने ‘सर्प टोकेको भन्दै आठैजना बेहोस् अवस्थामा आएका थिए । अहिले सबै उपचार पश्चा निको भएर घर फर्केका छन् । उनीहरुको जिउमा कतैकुनै सर्पले टोकेको चिनो छैन । विष पनि लागेन ।’
स्थानीय एक महिलाको सर्पले टोक्दा मृत्यु भएको र नजिकै शव गाडेकाले डराएर आफुहरुलाई सर्पले नै टोक्यो भनेर मनोवैज्ञानिक कारणले बेहोस् भएको हुन सक्ने सर्पदंश उपचार केन्द्रका अध्यक्ष देवकोटाको भनाइ छ ।
भंगहाका नगरप्रमुख संजिव साहले आफुलाई राति नै १६ जनालाई सर्पले टोकेको भनेपछि आश्चर्यमा परेको बताए । सोहि अनुसार संचारमाध्यमलाई पनि जानकारी गराएको तर पछि बुझ्दै जाँदा उनीहरुलाई सर्पले टोकेको भ्रम भएको उनको भनाइ छ ।
सम्बन्धित समाचार