बारामा लाखौं नक्कली नोट बरामद, भारतीयसहित ३ जना पक्राउ
टुडेपाटी-
बारा, साउन ३ गते ।
बारामा नक्कली नोटसहित एकजना भारतीय नागरिक सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आदर्श कोतवाल गाँउपालिका ६ निवासी ३० वर्षीय नरेन्द्रप्रसाद कुशवाहा, सिमरौनगढ नगरपालिका ५ निवासी २६ वर्षका मनोजकुमार साह र भारत बिहार मोतिहारी थाना कोरैया निवासी सुधिरकुमार कुशवाहा छन् ।
शनिबार बाराको महागढीमाई नगरपालिका २ बरियारपुर चौकबाट लागुऔषध खरिदबिक्री तथा ओसारपसार कार्यमा संलग्न रहेको बिशेष सूचनाको आधारमा प्रहरीले तीनैजनालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार पक्राउपछि उनीहरूले बोकेका झोला खानतलासी गर्दा ठूलो मात्रामा नक्कली नोट फेला परेका हुन् ।
पक्राउ परेका उनीहरूको साथबाट एक हजार दरका ११ सय ६५ थान, एक सय दरका ७ सय ४६ थान, भारतिय पाँच सय दरका २ सय ८४ थान ५० दरका ७ सय ६ थान नोट बरामद भएको उनले बताए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बारामा राखि थप अनुसन्धान गरिरहेको छ ।
Sponsored