मिटरव्याज पीडित संघर्ष समितिद्वारा पुनः आन्दोलनको घोषणा
टुडेपाटी-
जनकपुरधाम, माघ ११ गते ।
मिटरव्याजविरुद्ध लामो समयदेखि संघर्षरत मिटरव्याज पीडित संघर्ष समितिले देशभर व्याप्त आर्थिक शोषण र मिटरव्याजी साहू महाजनहरूको अत्याचारविरुद्ध नयाँ आन्दोलनको घोषणा गरेको छ।
समितिले माघ १४ गतेदेखि आर्थिक शोषणविरुद्ध जनजागरण अभियान सुरु गर्ने घोषणा गरेको हो ।
जनकपुरधाममा आयोजना हुने बृहत् घोषणा सभाबाट अभियान सुरु हुने जनाइएको छ। अभियानको मुख्य उद्देश्य उत्पीडित किसान, मजदुर र साना व्यवसायीहरूलाई संगठित गर्दै न्यायका लागि सशक्त संघर्ष गर्ने
समितिका महासचिव मनोज कुमार पासवान र अध्यक्ष अवधेश कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघर्ष समितिले सरकारले पीडितहरूसँग गरेका सम्झौताहरूलाई धोका दिएको र मिटरव्याजविरुद्धको संघर्षलाई कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाइएको छ।
Sponsored
विज्ञप्तिमा भनिएको छ, ‘देशका राजनीतिक दल, जनप्रतिनिधि, र उच्च पदस्थ व्यक्तिहरू मिटरव्याज धन्दालाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रोत्साहन गर्दै पीडितहरूमाथि शोषण र दमन गर्ने भूमिकामा रहेका छन्। सरकारको कमजोरीका कारण मिटरव्याजविरुद्धको आन्दोलनबाट प्राप्त उपलब्धिहरू खतरामा परेका छन्।’
संघर्ष समितिले सरकारको व्यवहारले बारम्बार सहमति तोडेको उल्लेख गर्दै पछिल्लो समय गठन गरिएका आयोगहरूलाई पीडितहरूको आँखामा छारो हाल्ने प्रयासका रूपमा चित्रण गरेको छ। २०८० साल फागुन २८ मा सरकारले नयाँ आयोग गठन गर्ने प्रतिवद्धता गरे पनि त्यसलाई कार्यान्वयनमा असफल भएको आरोप विज्ञप्तिमा लगाइएको छ।
संघर्ष समितिले सहिद डाचाराज वाग्ले, विनित सोनार र भोगेन्द्र ठाकुरको बलिदानलाई स्मरण गर्दै यो आन्दोलन पीडित जनसमुदायको न्यायका लागि ऐतिहासिक संघर्ष भएको बताएको छ ।
समितिले मिटरव्याजविरुद्धको कानुनी कार्यान्वयन, वित्तीय शोषणको अन्त्य, र उत्पीडित जनताको न्याय सुनिश्चित गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ। साथै, राज्यले आर्थिक अपराधमा संलग्न माफियाहरूलाई संरक्षण गर्न बन्द गर्नुपर्ने माग गरिएको छ।
समितिले आफ्नो न्यायपूर्ण संघर्षलाई सफल बनाउन कुनै पनि मूल्यमा पछि नहट्ने प्रतिवद्धता जनाउँदै जनसमुदायलाई जागरुक र संगठित हुन आह्वानसमेत गरेको छ।