धार्मिक आस्थाको केन्द्र जनकपुमा कहालीलाग्दो छ मदरसाको अवस्था
राजा झा-
जनकपुरधाम, माघ २८ गते ।
प्रदेश-२ को राजधानी जनकपुरधाममा जानकी मन्दिरको पछाडि रहेको मस्जिद तथा स्थानीय मुस्लिमहरुको समुदायबाट सञ्चालित मदरसाको अवस्था दयनीय रहेको छ।
सरोकारवाला र सरकारी उदासिनताको कारण यहाँका मदरसाको अवस्था दयनीय बन्न पुगेको हो। ६४ वर्षदेखि जनकपुरधाममा सञ्चालनमा रहेको अलजामेअतुल हनफियतुल गौसिया मदर्सा स्थानीय सरकार बने पनि सरकारको आँखा जान सकेको छैन।
सरकारी निकायको ध्यान त्यस मदर्सामा जान नसकेपछि त्यहाँको अवस्था झन दयनीय बन्दै गइरहेको छ। वि.सं. २०१२ मा स्थापना भएको अल जामेअतुल हनफियतुल गौसिया मदर्सा सरकारी मान्यता वि.सं. २०६५ मा पाउन सफल भयो।
तर सरकारी स्तरबाट मान्यता पाएको ११ वर्ष बितिसक्दा पनि त्यहाँ न विद्यार्थीकै लागि कुनै किसिमको सुविधा प्रदान गरिएको छ न त शिक्षकहरुकै लागि। सामाजिक सहयोगबाट सञ्चालनमा रहेको सो मदर्सामा १ सय २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये ५० जना छात्राहरु अध्ययनरत रहेका छन्।
उर्दू शिक्षाको आकर्षण घटिरहेको समयमा पछिल्लो शैक्षिक सत्रको तुलनामा यस मदर्सामा विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ। शैक्षिक सत्र २०७५÷०७६ मा २५ विद्यार्थी मात्रै रहेकोमा चालु शैक्षिक सत्रमा थप ८५ विद्यार्थीहरु अध्ययन गर्नका लागि पुगेका हुन्।
Sponsored
यहाँ पढ्ने छात्र छात्राहरु उर्दु शिक्षाका लागि यहाँ पुग्ने गर्छन् भने अन्य विषयको अध्ययनका लागि अर्को विद्यालयमा अध्ययन गर्ने गर्छन्। मदर्सामा रहेको विद्यालय व्यस्थापन समितिको पहलकै कारण विद्यार्थीहरुमा उर्दु शिक्षाप्रति आकर्षण बढेको समितिका अध्यक्ष जलालुद्दिन खानले दावी गरे।
मदरसामा शिक्षकको दरबन्दी छैन
वि.सं. २०६५ सालमा सरकारी स्तरमा मान्यता प्राप्त गरेको अल जामेअतुल हनफियतुल गौसिया मदरसामा कक्षा २सम्म पढाइ हुन्छ तर सरकारी मान्यता पाएको ११ वर्ष बितिसक्दापनि अहिलेसम्म यस मदर्सामा शिक्षकहरुलाई नियुक्ति गरिएको छैन। मदर्साका सदर मुदरिस (प्राधानाध्यापक) शेख नइमले बताए । नइम मदर्साका प्राधानाध्यापक भएपनि उनी स्वयं दरबन्दीबाट आएका होनन्।
मदर्सामा दरबन्दी किन राखिएको छैन भन्ने प्रश्नमा शिक्षा समन्वय ईकाई धनुषाका प्रमुख बर्खु प्रसाद रजकले अब माविसम्मको शिक्षा स्थानीय तहमा गईसकेकोले स्थानीय तहबाट नै दरबन्दी गर्नु पर्ने बताए। उनले भने ‘स्थानीय तहमा दरबन्दी मिलान भईरहेको र दरबन्दी नियमावली बनिसकेकोले अब शिक्षक माग गर्दा पूर्ति हुनेछ।’
मदर्सामा जम्मा ७ जना शिक्षकहरुलाई सामाजिक स्तरमा राखिएको छ। उनीहरुको तलब मुस्लिम समुदायबाट उठ्ने जकात अर्थात चन्दाबाट व्यवस्थापन हुँदै आएको छ। विराटनगरका प्रधानाध्यापक नमइ मात्र १० हजार रुपैयाँ पारिश्रमिक लिएर विद्यार्थीहरुलाई पढाउँदै आइरहेका हुन्। उनले भने ‘उर्दु भाषा हराएर नजाओस ध्येयका साथ मात्रै आफू कम पारिश्रमिकमा काम गर्दै आएको छु।’
आफूहरु अड्डा कार्यालय धाउँदा धाउँदा हैरान भई सके पनि अहिलेसम्म केही हासिल हुन नसकेको नइमले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खानले समेत मदर्सामा शिक्षक दरबन्दीका साथै विद्यार्थीहरुको दिवा खाजा, ड्रेस, छात्रवृति लगायतका अन्य सुविधाका लागि पहल भईरहेको जानकारी गराए ।
अल जामेअतुल हनफियतुल गौसिया मदर्सामा धनुषा जिल्लाको मात्र नभई महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट, भारतको विभिन्न स्थानबाट समेत उर्दु शिक्षा ग्रहण गर्नका लागि पुग्ने गर्छन्।
सदभावको नमूना
प्राचिन मिथिलाको राजधानी एवं वर्तमान प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाम धार्मिक सहिष्णुताको अदभूत केन्द्रको रुपमा रहेको छ। यहाँ एकातर्फ विश्व प्रसिद्ध जानकी मन्दिरमा प्रार्थनाका स्वरहरु गुञ्जिरहेको हुन्छ भने अर्को तर्फ जानकी मन्दिरको ठिक पछाडि रहेको मस्जिदमा नमाजका स्वरहरुले समेत गुञ्जायमान भइरहेको हुन्छ। विश्वभरी धार्मिक असहिष्णुता बढी रहेको समयमा जनकपुरधाम विश्व समुदायका लागि उत्कृष्ट उदाहरणको रुपमा लिन सकिन्छ।
विभिन्न ठाउँहरुमा धर्म संस्कृतिहरुलाई लिएर हिन्दु मुस्लिमहरु बिच विवाद भइरहेको खबरहरु आइरहेको हुन्छ तर यहाँ भने आपसी सम्झदारी एव सहयोगको कारण यहाँ यस्तो कुनै विवाद हुँदैन्।