गौतमबुद्ध रंगशालाकालागि महोत्सवबाटै उठ्यो ४० करोड, प्रदेश २ को पनि साथ
रोहित महतो
चितवन, माघ २७ गते ।
हुलका-हुल आउने दातामा गजबको उत्साह देखिन्थ्यो। समूहमै नाचगान गरिरहेका थिए उनीहरू।
चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि सहयोग गर्न पाउँदा खुसी देखिन्थे। टाढा-टाढाबाट यथाशक्य सहयोग गर्न बस अनि ट्रयाक्टरमा समेत आएका थिए उनीहरू।
प्रवेशद्वार झकिझकाउ छ। बाजागाजा बजाउँदै आएका आगन्तुकको भीड छ। धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउन धनधान्याञ्चल महोत्सव आयोजना गरेको छ।
रंगशाला निर्माणमा सहयोग गर्न मुलुकभरका ७ सय ५३ स्थानीय तह र ७७ वटै जिल्लालाई पत्राचार गरिएको छ। उद्योग वाणिज्य महासंघ, उद्योग संघ, उद्योग परिसंघ, एनआरएन, लायन्स, जेसिजलगायत विभिन्न संघसंस्थालाई यस अभियानमा जोड्ने गरी काम थालिएको छ।
जनस्तरबाटै रकम संकलन गरी रंगशाला निर्माण कार्यमा आफ्नो हैसियत अनुसार सर्वसाधारणले पनि नगद तथा जिन्सी दान गरिरहेका छन्।
Sponsored
विश्वकै उत्कृष्ट १० मध्ये एक नमूना रंगशाला निर्माणको लक्ष्य राखी फाउन्डेसनले दुई वर्षभित्रै निर्माण सिध्याउने गरी काम अघि बढाएको छ।
५० करोड संकलन गर्ने लक्ष्य रहेको महोत्सवबाट करिब ४० करोड संकलन भइसकेको फाउन्डेसनले छ। शनिबार मात्र एकै दिन महोत्सवबाट १५ करोड संकलन भएको छ। यसअघि शुक्रबार एकैदिन ९ करोड र बिहीबार एकैदिन ५ करोड संकलन भएको थियो।
हरेक दिन सहयोग रकम जुट्ने क्रम बढ्दो छ। रंगशाला निर्माणमा अहिलेसम्म भएको खर्च दुई सातापछि हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरिने फाउन्डेशनका कोषाध्यक्ष मदन तिमिल्सिनाले बताए। ‘कहाँबाट कति खर्च, आम्दानी भयो सार्वजनिक सुनुवाइमार्फत् सार्वजनिक हुनेछ। आगामी दिनमा कसरी संकलन हुने विषयमा छलफल हुनेछ,’ उनले भने। रंगशाला निर्माणका लागि तीन अर्ब रकम लाग्ने बताइएको छ।
धमाधम निर्माण कार्य हुँदै
भरतपुर महानगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयको २० बिघा ६ कट्ठा जग्गा फाउन्डेसनलाई रंगशाला बनाउन उपलब्ध गराएको छ। विश्वकै उत्कृष्ट १० मध्ये एक नमूना रंगशाला निर्माणको लक्ष्य राखी फाउन्डेसनले दुई वर्षभित्रै निर्माण सिध्याउने गरी काम अघि बढाएको छ। ३० हजार क्षमताको यो रंगशालाको निर्माण काम धमाधम भइरहेको छ।
भूकम्पप्रभावित र मुसहरका लागि नमुना बस्ती निर्माणमा अनुभव बटुलेको फाउन्डेसनले स्थानीय, देश र विदेशबाट सहयोग जुटाएको छ। रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायत पूर्वाधार निर्माणको काम सिध्याएर अहिले रंगशालाको मुख्य काम तीव्र पारिएको छ।
क्रिकेटको पिच र शेरवालको काम सँगै अघि बढेको छ। पिसिसी ढलान सकेर सेरवालको भित्री भाग उठाउने काम भएको छ भने बाहिरी भागको काम हुँदैछ। मैदानमा परेको पानी सुरुमा ६० प्रतिशत पानी जमिनमा सोस्ने र बाँकी ४० प्रतिशत ड्रेनमा जम्मा हुने गरी डिजाइन गरिएको छ।
पिच बनाउने स्थानमा तीन फिट खाल्डो खनेर ढुंगा बिछ्याउने काम भइरहेको छ। क्रिकेट स्टेडियममा ७ वटा पिच बनाइने छ। अत्याधुनिक डिजाइनले ७० मिटर व्यास भएको क्रिकेट मैदान निर्माण हुँदै छ। निर्माण कार्यमा दैनिक करिब २ सय मजदूर तथा प्राविधिक खटिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलभित्रै फाउन्डेसनले नमुना क्रिकेट मैदानसमेत निर्माण गरेको छ। जिल्लामा आयोजना हुने क्रिकेट प्रतियोगिता यही मैदानमा गर्ने योजना छ। क्रिकेटलाई प्राथमिकता दिएपछि फुटबल, भलिबल, स्वीमिङ लगायतका खेलसमेत खेल्ने संरचना बनाइँदै छ।
रंगशाला निर्माण पूरा भएपछि बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नसकेमा त्यसबाट आउने आम्दानी खेलाडी र खेल विकासका लागि खर्च गरिने फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताए।
आगन्तुकको घुइँचो
चितवनको भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकन गर्नेको घुइँचो बढेको छ। नगद तथा जिन्सी दान गर्न मुलुकका विभिन्न ठाउँबाट आउने आगन्तुकको संख्या केही दिनयता बढेको हो।
रंगशालामा देशका विभिन्न जिल्लाबाट दैनिक करिब ३ देखि ४ हजारसम्म आगन्तुक आउने गरेका फाउन्डेसनका कोषाध्यक्ष मदन तिमिल्सिनाले जनाए। विभिन्न जिल्लाबाट आउने आमा समूह, सहकारी संस्था, निजी तथा सरकारी संस्थाले नाचगान र भजनकीर्तनसहित स्वतस्फूर्त रूपमा आफूले सकेको आर्थिक सहयोग हस्तान्तरण गरिरहेका छन्।
रंगशालामा अवलोकन गर्नेको संख्या बढेसँगै सहयोग रकमसमेत बढ्न थालेको छ। भ्यू टावर चढेर रंगशाला निर्माणको काम अवलोकन गर्ने आगन्तुकले शुल्क तिर्ने गरेका छन्। ‘देशका ७७ वटै जिल्लाका लागि ७७ वटा कोठा हुने गरी रंगशालाको डिजाइन गरिएको छ।’
भ्यू टावर चढेर अवलोकन गर्ने व्यक्तिसँग प्रति व्यक्ति २० रुपैयाँ लिने गरिएको छ। रंगशालामा शनिबार र सार्वजनिक बिदाको दिन भ्रमण गर्ने र तस्बिर खिच्नेको भीड लाग्ने गरेको छ। ‘हरेक पेसा-व्यवसायका व्यक्ति, नेतालगायत व्यक्ति आउँछन्,’ कोषाध्यक्ष तिमिल्सिनाले भने।
उनका अनुसार मुलुकका सबैलाई अपनत्व महसुस हुने गरी रंगशाला निर्माण कार्य अगाडि बढाइनेछ। ‘देशका ७७ वटै जिल्लाका लागि ७७ वटा कोठा हुने गरी रंगशालाको डिजाइन गरिएको छ,’ उनले भने, ‘जनताले अपनत्व लिन थालेको अनभूति हामीलाई भएको छु। आ-आफ्ना जिल्लाका कक्ष सम्बन्धित जिल्लाले बनाइदिउन् भन्ने चाहना छ।’
अवलोकनकर्ताले निर्माणाधीन रंगशालाको साइट हेर्न चाहे पनि काम प्रभावित हुने भन्दै त्यता जान रोक लगाइएको छ। रंगशाला निर्माण भइ सकेपछि पर्यटनका साथै खेलकुदका माध्यमबाट हुने आम्दानीले खेलाडी उत्पादन, प्रशिक्षण र समाजसेवामा खर्च गर्ने योजना रहेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’को भनाइ छ।
प्रदेश २ को उत्साहपूर्ण सहयोग
महोत्तरीको बर्दिबास र रौतहटको चन्द्रनिगाहपुरमा मुसहर बस्ती बनाएको फाउन्डेसनले रंगशाला निर्माणमा प्रदेश २ बाट उत्साहपूर्ण सहयोग पाइरहेको छ। रंगशालाको अवस्था तथा प्रगति अवलोकन गर्न पुगेको प्रदेश २ का सञ्चारकर्मी, होटेल व्यवसायी तथा अभियन्ताको टोली रंगशालाको स्थलगत निरीक्षण गरी फर्केको छ।
फाउन्डेसनका अध्यक्ष कट्टेलले प्रदेश २ का विभिन्न संघ-संस्था, व्यक्ति तथा उद्योगी व्यवसायीबाट राम्रो सहयोग पाएको बताएका छन्।