TodayPati

धनुषामा २० वर्षमा पनि पुरा भएन खानेपानी आयोजना

टुडेपाटी समाचारदाता

जनकपुरधाम, माघ २७ गते ।

धनुषामा दुई दशक अघिदेखि सुरु भएका तीन दर्जनभन्दा बढी खानेपानी आयोजना पूरा हुन सकेका छैनन्। कतिपय आयोजना दुई दशकदेखि अलपत्र भएका कारण उपभोक्ता चिन्तित बनेका छन्।

Sponsored

जिल्लामा तीन दर्जनभन्दा बढी खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन्। तर, करिब दुई दशक अघिदेखि निर्माणाधीन खानेपानी आयोजना पूरा नहुँदा स्थानीय उपभोक्ता मर्कामा परेका छन्। विशेषतः चैत महिनादेखि पानीको मुहान सुक्ने हुँदा झनै समस्या भोग्नुपरेको स्थानीयको भनाइ छ।

‘चापाकलमा पानी आउन छाड्छ। पर-परबाट पानी ल्याउनुपर्छ। अब १/२ महिनापछि यस्तो समस्या सुरु हुन थाल्छ,’ धनुषाधाम-५ का हरिदेव यादवले भने।

२०५६ सालमा ‘सबैका लागि स्वच्छ खानेपानी’ भन्ने नारासहित सरकारले ती योजनाहरू सुरु गरेको थियो। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएका ती खानेपानी आयोजना दुई दशक बितिसक्दासमेत पूरा हुन नसकेका हुन्।सम्झौतामा सरकारले आवश्यक पूर्वाधार उपलब्ध गराउने र स्थानीय उपभोक्ताले श्रमदान गर्ने सम्झौता भएको थियो। तर, उपभोक्ताले श्रमदानमा सहभागिता नजनाउँदा काम पूरा हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन एकाइ कार्यालय जनकपुरधामका इन्जिनियर रामगोविन्द यादवले बताए।

Sponsored

धनुषाधाम नगरपालिकामा सुरु भएको खानेपानी आयोजनामा अहिलेसम्म च्याम्बर, इन्टेक र पर्खालमात्र निर्माण सकिएको छ। धनुषाधाम खानेपानी आयोजनाका लागि स्थानीय उपभोक्ता र सरकारसँग २०५६ सालमा सम्झौता भएको थियो। ८ करोड ३६ लाख ७७ हजार लागतमा जनसहभागितासहित तीन वर्षभित्रै सक्ने सम्झौता भएको थियो।

सम्झौतामा सरकारले आवश्यक पूर्वाधार उपलब्ध गराउने र स्थानीय उपभोक्ताले श्रमदान गर्ने सम्झौता भएको थियो। तर, उपभोक्ताले श्रमदानमा सहभागिता नजनाउँदा काम पूरा हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन एकाइ कार्यालय जनकपुरधामका इन्जिनियर रामगोविन्द यादवले बताए। आयोजना स्थलसम्म सडक सञ्जाल र स्थानीय उपभोक्तामा चेतना नहुँदा समस्या भएको भन्दै कामले गति लिन नसकेको उनले स्वीकार गरे।

‘सबै योजनामा स्थानीय उपभोक्ताले श्रमदान गर्नुपर्ने प्रावधान छ। पानी अभाव रहेको ठाउँमा उपभोक्ताले श्रमदानमा सक्रिय सहभागिता जनाएर काम छिट्टै सम्पन्न गर्छन्,’ उनले भने, ‘तर, पानी अभाव नरहेको ठाउँमा खानेपानी योजना समयमै सम्पन्न गर्नु निकै चुनौतीपूर्ण हुन्छ। स्थानीयले सहभागिता जनाउँदैनन्, अनि समय लम्बिदै जान्छ। यो समस्या दक्षिण भेगमा बढी छ, जहाँ खानेपानीको अन्य स्रोत पनि छन्।’

यस्तै, सबैला र सपही खानेपानी आयोजना निर्माण कार्य सुरु भएको एक दशक पुग्न लागेको छ। तर, उक्त योजनाको काम पनि उस्तै छ। सरोकारवाला निकायले चालु वर्षमा काम सक्ने लक्ष्य लिएपनि काम सक्ने छाँटकाँट नदेखिएको स्थानीयको गुनासो छ। तर, इन्जिनियर यादवले ९० प्रतिशत काम पूरा भएको दाबी गर्दै चालु वर्ष यी तीनै योजना सञ्चालनमा आउने उनले बताए। पाइप बिछ्याउने काम मात्र बाँकी रहेको भन्दै स्थानीयले साथ दिए भने छिट्टै काम सक्ने उनले जनाए।

सबैला र सपहीका खानेपानी आयोजना २०६६ सालमा सम्झौता भई तीन वर्षभित्र काम सक्ने सम्झौता भएको थियो। आयोजना निर्माणाधीन भएको एक दशकमा पटक-पटक म्याद थप भइसक्यो। तर, काम पूरा हुन सकेको छैन। सपही खानेपानी आयोजना ७ करोड ६५ लाख ८७ हजार लागतमा सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख छ। यस्तै, बसैला खानेपानी आयोजनामा ४ करोड ६७ लाख ३३ हजारमा जनसहभागितासहित सम्झौता भएको थियो। तर, उक्त खानेपानी आयोजना पनि सञ्चालनमा आउन सकेको छैन।

यी तीन खानेपानी आयोजना सञ्चालन भएपश्चात ५० हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *