TodayPati

६ महिनाअघि श्रीमान गुमाएकी अर्चना एकलो छोरा आशुको हत्याले अचेत

टुडेपाटी-
जनकपुरधाम, चैत ३ गते ।

आँगनीमा लडिबुडी गर्दै अर्चना यादव रुँदै बिलाप गरिरहेकी थिइन् – ‘रे बेटा, हमरा छोरिक कत चैलगेल रे! तोरा बिना आब हम केना जियब रे!’ आसपास जम्मा भएका आफन्त र छिमेकी कोही आँसु पुछ्दै थिए, कोही सान्त्वना दिने प्रयास गर्दै । नजिकै उनकी १० वर्षीया जुम्ल्याहा छोरीहरू, स्नेहा र मेघा, आमाको छेउमै बसेर संगै बिलाप गरिरहेका थिए ।

अर्को छेउमा गाउँको असमसान घाटमा १५ वर्षीय आशुको दाहसंस्कार हुँदै थियो । अर्चनाको रोदन र वेदनाले जम्मा भएका आफन्त र स्थानीयको आँखाबाट आँसु रोकिएको थिएन ।
अर्चनाका श्रीमान् पप्पु यादवको निधन भएको जम्मा ६ महिना मात्र भएको थियो । श्रीमान् गुमाएको पीडा उनले भुल्न नपाउँदै नियतिले उनको छोरा खोसेको छ । उनको एकल सहारा छोरा आशु पनि गुमेको छ ।

होलीको रंग र उमंगमय दिन शनिबार, सामान्य विवादको कारणले आशुले ज्यान गुमाउनु प¥यो । स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले घरबाट बोलाएर छुरा प्रहार गरी उनको हत्या गरेका थिए । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार साँझ ५ बजे धर्मेन्द्रले आशुको छाती, ढाड र पेटमा छुरा प्रहार गरे । गम्भीर घाइते भएका आशुलाई जनकपुर प्रादेशिक अस्पताल लगियो । ६ बजे चिकित्सकले मृत घोषित गरे ।

काकी संगीता यादवका अनुसार, होली खेल्ने क्रममा धर्मेन्द्रको कुर्ता अलि च्यातिएको थियो । यही सानो कुराले क्रोधित बनेका धर्मेन्द्रले आशुलाई मारदिने सुर चढेको थियो । काकी संगीताले धर्मेन्द्रलाई सम्झाउने प्रयास गरेकी थिइन् । तर घरबाट फर्केका धर्मेन्द्र फेरि साथीबाट आशुलाई बोलाउन लगाएर अन्धाधुन्ध छुरा आशुमाथि प्रहार गरेका थिए ।

प्रत्यक्षदर्शी समेत रहेकी आशुका काकी विनिता यादवका अनुसार उनको छोरा रुपेशले समेत रोक्न खोज्दा दुईपटक छुरा प्रहार गरेका थिए । रुपेश समेत घाइते भएका छन् । तीन छुरा लागेपछि आशु त्यही ढले । आफूले धर्मेन्द्रलाई रोक्ने र बचाउन गुहार गर्दा समेत कोही नआएको विनिताले दुखेसो पोखिन् । उनका अनुसार स्थानीय रामवरण महतोका छोरा राकेश महतोले धर्मेन्द्रलाई छुरा दिएका थिए । धर्मेन्द्र नशा सेवन गरेका थिए ।

आशु झगडालु बालक थिएनन् । उनी शान्त स्वभावका थिए । जनकपुरस्थित यज्ञबल्क्य ज्ञानकुप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै थिए। आमाबुबाले उनलाई डाक्टर वा इन्जिनियर बनाउने सपना देखेका थिए।

तर नियतिले त्यो सपना साकार हुन दिएन । पप्पु यादव अटो रिक्सा चलाएर परिवार चलाउने मेहनती व्यक्ति थिए । केही महिना अघि अचानक बिरामी परेपछि ६ महिनासम्म उपचारपछि उनको निधन भयो। श्रीमान् गुमाएको पीडा सहन नसक्दा पनि अर्चनाले आफूलाई सम्हालिन् । तर अब, जब उनका आँखाका तारा छोरा आशु पनि गुमेपछि उनी पूरै असहाय भएकी छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *