गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभएपछि एसईई प्रक्रियामा सहभागी नहुने मधेश सरकारको घोषणा
टुडेपाटी-
जनकपुरधाम, चैत ५ गते ।
मधेश प्रदेश सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रक्रियाबाट अलग रहने घोषणा गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै परीक्षा प्रणालीमा निष्पक्षता र मर्यादा कायम राख्ने प्रदेश सरकारको प्रयासलाई केन्द्र सरकारले अस्वीकार गरेकाले यस्तो निर्णय लिन बाध्य भएको बताएका छन्।
मुख्यमन्त्री सिंहका अनुसार, परीक्षामा हुने अनियमितता रोक्न मधेश सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्त गर्ने र परीक्षामा फेला पर्ने मोबाइल जफत गर्ने निर्णय गरेको थियो। तर, जिल्ला परीक्षा समन्वय समितिहरूले त्यसविपरीत केन्द्र भएका विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएपछि मधेश सरकारले परीक्षा प्रक्रियाबाट अलग रहने निर्णय गरेको हो।
‘विगतमा एसईई परीक्षामा व्यापक अनियमितता हुने गरेको छ। सेटिङ्, चोरी, उत्तर फ्लेप प्रवृत्तिले शिक्षाको गुणस्तर कमजोर बनाएको छ। यसलाई सुधार्न हामीले गोलाप्रथा र मोबाइल जफतको निर्णय गरेका थियौं, तर हाम्रो निर्णय पालना भएन। अनैतिक क्रियाकलापको हामी साक्षी बस्न सक्दैनौं,’ मुख्यमन्त्री सिंहले स्पष्ट पारे।
गत फागुन २६ गते बसेको बैठकमा मधेश सरकारले परीक्षा प्रणाली सुधार गर्नका लागि नयाँ उपायहरू लागू गर्ने निर्णय गरेको थियो। तर, सो निर्णय कार्यान्वयन हुन नसकेको भन्दै प्रदेश सरकार एसईई प्रक्रियाबाट अलग रहने निष्कर्षमा पुगेको हो।