TodayPati

जनकपुरका अवैध अस्पतालहरू संगठित, सरकारविरुद्ध आन्दोलनको तयारी

टुडेपाटी-
जनकपुरधाम, माघ २८ गते ।

मधेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका निजी अस्पतालहरूविरुद्ध कडा कदम चालेपछि जनकपुरधामका केही अस्पताल सञ्चालकहरू संगठित भएका छन्।

बिना दर्ता तथा मापदण्डविपरीत सञ्चालन भएका अस्पतालहरूमा अनियमितता बढ्दै गएपछि मधेशका मुख्यमन्त्री सतिश सिंहले शनिबार छड्के अनुगमन गरेका थिए। अनुगमनका क्रममा २० वटा अस्पतालमध्ये अधिकांश मापदण्ड अनुरूप नभएको तथा केही अस्पताल दर्ताविनै सञ्चालनमा रहेको पाइएको थियो।

मुख्यमन्त्री सिंहले अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरू तत्काल बन्द गर्न तथा आवश्यक मापदण्ड पूरा गरेपछि मात्र सञ्चालन गर्न निर्देशन दिएका थिए। यसैक्रममा मुस्कान अस्पताल, अरमान हस्पिटल प्रा.लि., जनकपुर सीता हस्पिटल प्रा.लि. र बीएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. बन्द गरी सरकारलाई साँचो बुझाइएको छ।

तर, सरकारको कडाइबाट त्रसित भएका केही अस्पताल सञ्चालकहरू मोर्चाबन्दी गर्दै आन्दोलनको तयारीमा जुटेका छन्। आइतबार साँझ उनीहरूको बैठक बसेर ‘प्राइभेट हस्पिटल एशोसिएसन जनकपुरधाम’ नामक संस्था गठन गरिएको छ।

सुरक्षा अस्पतालका सञ्चालक डा. सरोज कुमार ठाकुरको अध्यक्षतामा गठित २५ सदस्यीय एसोसिएसनको उपाध्यक्षमा राम भरोस महतो, सचिवमा आविद हुसेन, कोषाध्यक्षमा संजय मण्डल र सहसचिवमा डा. शुभाषचन्द्र यादव छन्।

नवगठित संगठनले सरकारविरुद्ध संघर्षको तयारी गर्दै ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गरी ‘यथार्थ बाहिर ल्याउने’ तथा ‘निजी अस्पतालहरूलाई नियोजित रूपमा बदनाम गर्न खोजिएको’ भन्दै प्रचारविरुद्ध अभियान सञ्चालन गर्ने जनाएको छ।

यसैबीच, समितिका पदाधिकारीहरूले अनुगमनको शैलीमाथि प्रश्न उठाएका छन्। स्वास्थ्य क्षेत्रको नियमनका लागि छुट्टै निकाय भए पनि मुख्यमन्त्री आफैं अस्पतालहरू अनुगमनमा खटिनु सरकारको गलत कदम रहेको उनीहरुको गुनासो छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *