जनकपुरमा थप तीन अवैध अस्पताल बन्द
टुडेपाटी-
जनकपुरधाम, माघ २७ गते ।
जनकपुरधाममा थप तीनवटा अस्पताल बन्द भएका छन्। जनकपुर सीता हस्पिटल प्रा.लि., अरमान हस्पिटल प्रा.लि., र बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि आइतबारदेखि बन्द भएका हुन्।
यी तीन अस्पतालका संचालकहरूले स्वयं ताला लगाएर अस्पतालका साँचो सरकारलाई बुझाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत एवं अनुगमन समितिका सदस्य सन्तोष ठाकुरले जानकारी दिए।
उपचारमा लापरवाहीको घटना सार्वजनिक भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा जनकपुरधामको पिडारीचोकस्थित मुस्कान अस्पताल शनिबार बन्द गरिएको थियो।
जनकपुरमा दर्ताविना चलिरहेका अधिकांश अस्पतालहरूमा उपचारमा लापरवाहीका कारण बिरामीको जीवनमा जोखिम उत्पन्न भइरहेको घटनाहरू बारम्बार बाहिर आइरहेका छन्। यसअघि शनिबार मुख्यमन्त्री सिंहले २० वटा निजी अस्पतालको अनुगमन गरेका थिए। त्यहाँ अधिकाँश अस्पताल बिना दर्ता र मापदण्डको उल्लंघन गर्दै सञ्चालन भइरहेका थिए।
मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकहरूलाई दर्ता नहुँदा ११ बजेसम्म साँचो बुझाउन निर्देशन दिएका थिए, अन्यथा सरकारी टोलि परिचालन गरेर अस्पताल बन्द गर्ने चेतावनी दिएका थिए। यसका आधारमा तीनवटा अस्पतालका सञ्चालकहरूले साँचो सरकारलाई बुझाएका छन्। अब अन्य अस्पतालहरूको बारेमा छलफल जारी रहेको अनुगमन समितिका सदस्य ठाकुरले बताए।