TodayPati

छठपर्वका लागि बाँसको नाङ्लो बनाउन भ्याइनभ्याइ

रासस-
लहान, कार्तिक ९ गते ।

छठपर्व नजिकिएसँगै लहानका सदाय समुदायका मानिसहरूलाई बाँसको नाङ्लो बनाउन भ्याइनभ्याइ छ। बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको दिनचर्या बाँसका सामग्री बनाउँदै बित्छ लहान–१७ वलानसेरका सदाय समुदायको ।

‘कात्तिक लाग्नेबित्तिकै  बिहानदेखि बेलुकासम्म नाङ्ला बनाउँदै दिन बित्छ। यतिबेला बजारमा नाङ्लाको माग बढी भएकाले आम्दानी पनि हुन्छ,’ नाङ्लो बुन्दै गरेका छोटकुन सदायले भने, ‘यो उल्लासको समय होे । जीवनका हरेक दुःख बिर्सेर मिठोमसिनो खाने र राम्रो लगाउने पर्व हो । त्यसका लागि पैसाको जोहो गर्नुपर्‍यो।’

Sponsored

बाँसका सामग्री बेचेर परिवारको जोहो टरेको उनले बताए।

छोटकुनका अनुसार पाँच दिनमा झण्डै १८ वटा नाङ्लो तयार हुन्छ। उमेरले ४५ वर्ष टेकेकी उनी यही पेसामा रमाइरहेका छन्।

उनले भने, ‘बाउबाजेले यही काम गर्दै आएकाले आफूलाई पनि यही काम सजिलो लाग्छ । विदेशमा पसिना बगाउनुभन्दा परिवारसँगै बसेर काम गर्दाको मज्जा अर्कै हुन्छ । परिवारका सबै सदस्यले मिलेर काम गर्दा काम गरेको पनि महसुुस नभई नाङ्लो तयार हुन्छ।’

Sponsored

सोही ठाउँका सियादेवी सदायको पनि दिनचर्या उस्तै छ। उनले पनि नाङ्लो बेचेर घरखर्चको जोहो गरेकी छन्।

‘वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लाको व्यापार गरेर केही महिनालाई गुजारा गर्नपुग्छ । यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन,’ सियादेवीले भने।

एउटा बाँसबाट सात वटासम्म नाङ्लो तयार गर्न सकिने सियादेवीले बताइन्।

नाङ्लो बनाउने बाँस सप्तरीको सिसवारबाट प्रतिघना २५० का दरले ल्याउनुपर्ने र नाङ्लो बाँध्न बेत पनि बाहिरबाट नै ल्याउनुपरेकाले नाङ्लाको मूल्य बढी पर्न गएको पनि उनले जानकारी दिए।

आफ्नो सीप र कलाको प्रयोग गरेर आकर्षक सामग्री बनाउने यहाँका सदय परिवारको यस परम्परागत पेसाको प्रवर्द्धनका लागि अहिलेसम्म कसैले पनि कुनै प्रकारको सहयोग नगरेको गुनासो छ।

लहानको गुदीगाँउ, भदैया, खेस्राहालगायत ठाउँमा नाङ्लो बनाएर बेच्ने व्यवसाय उल्लेख्य मात्रामा छ। अन्य समयमा एउटा नाङ्लो रु दुई सय २० मा बिक्री हुने नाङ्लो चाडपर्वमा चार सयसम्म घरैमा आएर व्यापारीले लैजाने गरेका छोटकनले बताए।

छठपर्वमा पूजाका सामग्री राख्न बाँसको सामग्रीमा राखेर पूजा गर्दा शुद्ध हुने मान्यता भएको हुँदा छठपर्वमा यसको माग बढी भएको स्थानीय बताउँछन्।

अन्य समयमा बजारमा लगेर सस्तो दाममा बेच्नुपर्ने तर छठपर्वका बेला व्यापारी टोलमा नै आएर किनेर लग्ने गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *