TodayPati

तराई मधेशमा चौठचन्द्र पर्व सम्पन्न

टुडेपाटी

जनकपुरधाम, भदौ २२ गते ।

तराई मधेशमा हिजो राति उदाउँदो चन्द्रमालाई अर्घ्य दिएर चौठचन्द्र पर्व सम्पन्न भएको छ। चन्द्रमाको पूजा गर्ने यस पर्वलाई श्रद्धा र आस्थाको पर्वका रूपमा मनाइन्छ। राति चन्द्रमा उदाएपछि विभिन्न सामग्रीको अर्घ्य अर्पण गर्दै पर्व विधिवत रूपमा सम्पन्न भएको हो। मिथिलाञ्चल क्षेत्रका गाउँबस्तीहरूमा यस पर्वलाई “चौरचन” पर्वका नामले पनि चिनिन्छ।

Sponsored

प्रत्येक घरका ज्येष्ठ महिलाले दिनभरि निराहार उपवास गरी राति चन्द्रमाको पूजा गरेका छन्। यस अवसरमा फलफूल, मिठाई, दही, पूरी, र खीर खाने प्रचलन रहेको छ। पर्वका लागि दुई/तीन दिनअघिदेखि नै तराई मधेशका घर–घरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती, मकै, निम्बु, तथा विभिन्न प्रकारका मिठाई र दहीको जोहो गरिएको थियो। आज घरका महिलाहरूले दिनभरि पुरी, खीर लगायतका परिकार पकाएर चन्द्रमालाई अर्पण गरी पूजाआजा गरेका छन्।

शुक्रबार साँझ घरका सदस्यहरू चन्द्रमा उदाउने प्रतीक्षामा थिए। चन्द्रमा उदाएपछि महिलाहरूले आँगनमा लिपपोत गरेर रङ्गोली बनाउँदै पूजाका सामग्री राखेर चन्द्रमाको पूजा गरे। पूजापछि घरका सबै सदस्यहरूले पालैपालो चन्द्रमालाई ढोगेर विभिन्न वर माग्ने परम्परा रहेको छ। त्यसपछि सबैजना आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलनले यस पर्वलाई अझ विशेष बनाएको छ।

यो पर्वले घरका सबै सदस्यलाई एकै ठाउँमा जमघट गराउने र एकै साथ भोजन गराउने परम्पराले आपसी सम्बन्धलाई थप बलियो बनाउने भएकाले यो पर्व लोकप्रिय छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *